आज :

एमसीसी संसदबाट पारित भएलगत्तै ६ दलको सोमबार नेपाल बन्द आह्वान, शसक्त बनाउने प्रतिबद्धता 

काठमाडौँ । सरकारले विवादित अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट पास गर्ने भएपछि ६ दलीय मोर्चाले नेपाल बन्दको आह्वान गरेको छ । नेकपा (क्रान्तिकारी माओवादी) सहित ६ दल र दुई मोर्चाले भोलि (सोमबार) नेपाल बन्दको आह्वान गरेका हुन् ।

सत्ता गठबन्धनले प्रतिनिधिसभाबाट कुनै सैन्य गठबन्धनमा सहभागी नहुनेसहित १२ बुँदे व्याख्यात्मक घोषणासहित एमसीसी पारित गरेको छ ।  एमसीसी देशको हितमा नभएको भन्दै खारेजीको माग गर्दै आन्दोलनरत ६ दलीय मोर्चाको आकस्मिक रुपमा बसेको बैठकले संसदबाट एमसीसी पारित गर्ने कार्य राष्ट्र घाती भएको भन्दै नेपाल बन्दको आह्वान गरेको हो ।

‘आज ६ कम्युनिस्ट पार्टी र २ वटा मोर्चाको आकस्मिक बैठक नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय बुद्धनगर, काठमाडौँमा बस्यो । नेपालका क्रान्तिकारी, देशभक्त, प्रगतिशील राजनीतिक शक्ति र नेपाली जनताले राष्ट्रिय रूपमा अस्वीकृत, विरोध र देशव्यापी जनसङ्घर्ष गर्दागर्दै पनि देउवा सरकारले रातारात एमसीसी कम्प्याक्ट पारित गर्ने मूर्खता गरिरहेको छ’ संयुक्त विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा यस्तो राष्ट्रघातका विरुद्ध घोषणा गरिएको बन्द कार्यक्रमलाई पूरै तागतका साथ सफल पार्न देशभक्त, वामपन्थी, प्रगतिशील, सच्चा लोकतन्त्रवादीहरूलगायत आम जनसमुदायमा अनुरोध गरिएको छ ।

‘यसका विरुद्ध राष्ट्रिय रूपमा प्रतिवाद सङ्घर्ष सञ्चालन गर्नु देशभक्त नेपाली जनताको कर्तव्य हुन पुगेकाले विषयको यही संवेदनशीलतालाई दृष्टिगत गरी हामी ६ कम्युनिस्ट पार्टी र २ मोर्चाले तत्कालिक जनसङ्घर्षको कार्यक्रम घोषणा गरेका छौँ । यसलाई पूरै तागतका साथ सफल पार्न देशभक्त, वामपन्थी, प्रगतिशील, सच्चा लोकतन्त्रवादीहरूलगायत आम जनसमुदायमा विनम्र अनुरोध गर्दछौं । साथै आज एमसीसीविरुद्धको आन्दोलनमा घाइते सम्पूर्ण देशभक्त योद्धाहरूको स्वास्थ्यलाभको कामना गर्दछौँ ।’ विज्ञप्तिमा भनिएको छ ।

नेकपाका महासचिव विप्लव, नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’, नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंह, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी, देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका संयोजक आहुतीले संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेका छन् ।

भोलिको नेपाल बन्दलाई शसक्त बनाउने ६ दलीय मोर्चाका नेताहरुले बताएका छन् । एमसीसीको विरोधमा एक हप्ताअघिमात्रै नेपाल बन्द आयोजना गरेको मोर्चाले फेरि बन्दको आयोजना गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal