काठमाडौं । अमेरिकी विवादित परियोजना एमसीसी आज संसदबाट पास हुने भएको छ । चौतर्फी विरोधबीच पाँच दलीय सत्ता गठबन्धनले ब्याख्यात्मक घोषणासहित एमसीसी पारित गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास वालुवाटारमा आज बिहान बसेको सत्ता गठबन्धनको बैठकले ब्याख्यात्मक घोषणासहित एमसीसी संसदबाट अनुमोदान गर्ने निर्णय गरेको हो ।
नेकपा माओवादीका पाँच नेताले एमसीसी पास गर्ने गठबन्धनको निर्णयको विरोध जनाएका छन् । पूर्वसभामुख कृष्णबहादुर महरा, नारायणकाजी श्रेष्ठ, देव गुरुङ, लिलामणि पोखरेल र गिरीराजमणी पोखरेलले व्याख्यात्मक नभएर संशोधन हुनुपर्ने बताएका थिए । संशोधन गर्न अमेरिका तयार नभए सरकारबाट बाहिरिनुपर्ने उनीहरुको धारणा रहेको छ ।
विहान बसेको कार्यालयको विस्तारित बैठकमा पाँच नेताबाहेका अरु सबैले व्याख्यात्मक घोषणासहित एमसीसीको पक्षमा उभिएका थिए । उनीहरुले विवादित बुँदाको व्याख्या गरेर एमसीसी पास गर्नुपर्ने धारणा राखेका थिए ।
बैठकमा श्रेष्ठले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्नु महाधिवेशनको निर्णय विपरीत हुने धारणा राखेका थिए । केन्द्रीय समितिमा पनि छलफल नगरी महाधिवेशनको निर्णय विपरीत जाने अधिकार कसैलाई नभएको
श्रेष्ठले बताए ।
संसदीय दलका प्रमुख सचेतकसमेत रहेका नेता देव गुरुङले संशोधन नगरी मूल सम्झौता पास गर्न नमिल्ने बताउँदै एमसीसी पास गरिए राष्ट्रिय आत्मसमपर्णवाद र गद्दारीको दिशातिर जाने बताए ।
सुरुदेखि नै एमसीसीको विपक्षमा उभिँदै आएका नेता लिलामणि पोखरेलले एमसीसी पास गरे आफ् पार्टीमा नबस्ने बताए ।
यसैबीच नेकपा एकीकृत समाजवादीको स्थायी समिति बैठक बसिरहेको छ । सरकारले आजै एमसीसी पास गर्ने निर्णय गरेसँगै एकीकृत समाजवादी बैठकमा जुटेको हो । अध्यक्ष माधव कुमार नेपाल व्याख्यात्मक घोषणासहित एमसीसी पास गर्नुपर्नेमा सहमत भएपनि सम्मानित नेता झलनाथ खनालसहितका केही नेताहरुले विरोध जनाएका छन् ।
पाँच दलीय सत्ता गठबन्धनले प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई पनि एमसीसीको पक्षमा आउन आग्रह गरेको छ । तर, आजको बैठकमा पनि एमालेका सांसदहरुले नाराबाजी गर्ने बताइसकेका छन् ।