
काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । संसद सचिवालयले हिजो सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा अमेरिकी विवादित मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) माथि छलफल गरिनेछ ।
संसद बैठक दिउँसोलाई बोलाइएको छ । प्रतिनिधिसभाको बैठकअघि बिहान साढे ११ बजे नयाँ बानेश्वरमा कार्यव्यवस्था परामर्श समिति बोलाइएको सभामुख अग्नि सापकोटाको सचिवालयले जनाएको छ । एमसीसीमा सहमति नजुट्दा यसअघि यही फागुन १२ र १३ गतेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सरकारको आग्रहमा स्थगित गरिएको थियो ।
नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी दल एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेसँगै सरकारको नेतृत्वकर्ता नेपाली काँग्रेस समस्यामा परेको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाले संसद बैठक स्थगित गर्न छलफलमा जुटेका थिए । देउवाले प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरुसँग छलफल गरेका थिए ।
शनिबार साँझ बालकोटमा काँग्रेस र एमाले नेताहरुबीच भएको छलफल विना निष्कर्ष सकिएको थियो । शनिबार साँझ नै प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच छलफल भएको थियो । उक्त छलफल सकारात्मक भएको भन्दै गठबन्धन दलका नेताहरुले विहानसम्म टुंगोमा पुग्ने बताएका छन् । एमसीसीमा व्याख्यात्मक
घोषणासहित अघि बढाउने सहमति भएको बताइएको छ । तर, एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको माओवादी केन्द्रले त्यसबारे केही बताएको छैन ।
माओवादी केन्द्रले अहिले विहान पूर्व स्थायी समितिको बैठक बस्दैछ । बैठकले विवादित बुँदामा व्याख्यात्मक घोषणा गरेर अगाडि बढ्ने वा एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गर्ने बताइएको छ । एकीकृत समाजवादी विवादित बुँदामा व्याख्यात्मक घोषणा गरेर अघि बढ्न सकिने सहमत भएको बताइएको छ । सम्मानित नेता झलनाथ खनालले भने असहमति राखेका छन् ।
यसैबीच एमसीसीको खारेजीको माग गर्दै नयाँ वानेश्वर र माइतीघर मण्डलामा विरोध प्रदर्शनको तयारी भइरहेको छ । नेकपा क्रान्तिकारी माओवादीसहितका ६ पार्टीले माइतीघर मण्डलामा विरोधको कार्यक्रम राखेका छन् भने नेकपा माओवादी केन्द्रका भातृसंगठनसहित अन्य समूहको संसद भवन अगाडि विरोध प्रदर्शन गर्दैछन् ।