
काठमाडौं । विवादित अमेरिकी सहयोग परियोजना एमसीसी प्रतिनिधिसभा बैठकमा पेश भएपछि सडकमा आक्रोस बढेको छ । एमसीसी खारेजीको लागि केही दिनदेखि वानेश्वरमा दैनिकजसो विरोध प्रदर्शन भइरहेको छ ।
नेकपा माओवादी केन्द्रको साहयक संगठन वाइसिएल नेपाल र अखिल क्रान्तिकारीले विहानैबाट विरोध प्रदर्शन गरेको थियो । त्यस्तै, विप्लव नेतृत्वको नेकपा, नेकपा क्रान्तिकारी माओवादीसहित ६ पार्टीले विरोध प्रदर्शन जारी राखेका छन् ।
प्रदर्शनकारीहरुले निषेधित क्षेत्र तोडेका छन् भने रोक्न नसकेपछि अहिले प्रहरीले गोली चलाएको छ । वानेश्वरदेखि बिजुलीबजारसम्म रणमैदान भएको छ । त्यस्तै संसद भवनको मुख्य गेटतिरको भाग पनि आन्दोलनकारी भरिएको छ । कतिखेर प्रहरीले त कतिखेर आन्दोलनकारीले पेल्दै गएका छन् ।
आन्दोनकारी भएका आशंकामा प्रहरी वानेश्वर आसपास क्षेत्रका घर र सटरभित्र पसेको छ । सर्वसाधारणलाई देख्दा पनि प्रहरीले लाठी चार्ज गर्दा स्थानीय पनि आक्रोसित भएका छन् ।
प्रमुख प्रतिपक्ष र सत्तापक्षकै केही सांसदहरुको नाराबाजीबीच एमसीसी संसदमा टेबल भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले एमसीसी सम्झौता टेबल गर्न सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई समय दिएका थिए । कार्कीले सम्झौता टेबल गर्न प्रस्ताव गर्दा सत्तारुढ माओवादी केन्द्र र एकीकृत समाजवादीका केही सांसदले उठेर नाराबाजी समेत गरेका थिए ।
माओवादी केन्द्रका सांसदहरु कृष्णहादुर महरा, देव गुरुङ, गिरिराजमणि पोखरेललगायत सांसदहरुले एमसीसी पेश हुँदै गर्दा विरोधमा नाला लगाएका थिए ।
त्यसैगरी नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले रोष्टमै पुगेर विरोध जनाए भने केही सांसदहरुले सिटबाटै उठेर विरोध जनाए । त्यस्तै, नेमकिपाका प्रेम सुवाल, जनमोर्चाकी दुर्गा पौडेलले पनि विरोध गरे ।
अहिले पनि वानेश्वर क्षेत्रमा झडप भइरहेको छ ।