काठमाडौँ । विवादित अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) आजको प्रतिनिधिसभा बैठकमा पेश गर्ने तयारी भइरहेको छ । प्रधनमन्त्री शेरबहादुर देउवाले आजको बैठकमा जसरी भएपनि एमसीसी पेश गर्ने तयारीमा रहेको बताइएको छ ।
एमसीसीबारे सत्ता गठबन्धन पाँच दलको बैठक पनि बस्दैछ । गठबन्धन धर्माएपछि नेताहरुले मध्यमार्ग पनि ओजिरहेका छन् । नेकपा एकीकृत समाजवादीको शनिबार बसेको बैठकले यथास्थितिमा एमसीसी पास गर्न नदिने निर्णय गरेको छ भने सार्वभौम संसदमा बहस गर्न भने सकिने नेताहरुले बताएका छन् । संसदमा पेश भएपछि बहस सकिएपछि एकीकृत समाजवादीले एमसीसीको विपक्षमा मतदान गर्ने समेत नेताहरुले बताएका छन् ।
प्रधानमन्त्री देउवाले गठबन्धन दलका नेताहरुले साथ नदिएपछि संसद अवरुद्ध गरिरहेको प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट्न बालकोट पुगेका थिए । देउवाले भेटमा एमसीसी पास गर्न सहयोग मागेको तर ओलीले भरपर्दो जवाफ नदिएको बताइएको छ ।
ओलीले प्रदेशसम्मका सरकार, प्रधानन्यायाधीश चोलेन्द्र राणामाथि लगाइएको महाअभियोग र सभामुख अग्निप्रसाद सापकोटालाई हटाउनुपर्ने, एकीकृत समाजवादीका १४ सांसदहरुलाई बर्खास्त गरेपछि सोच्न सकिने देउवालाई भनेको नेताहरुले बताएका छन् । एक नेताका अनुसार देउवाले एमसीसी पास गरौं त्यसपछि अरु विषयमा छलफल गर्दै जान सकिने भन्दै ओलीसँग आग्रह गरेका थिए ।
एमसीसी के गर्ने भन्ने विषयमा छलफल गर्न अहिले गठबन्धन दलको बैठक बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा देउवाले सहमति जुटाउने प्रयास गर्ने, सहमति नजुटे पनि आजको संसद बैठकमा जसरी एमसीसी पेश गर्ने तयारीमा रहेको स्रोतहरुको दाबी छ ।
आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठकको कार्यसूची बनाउन सभामुखले कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । गठबन्धन दलहरुबीच भएको सहमतिअनुसार सभामुखले सूची तय गर्नेछन् । सहमति नभए सरकारको आग्रहमा पनि एमसीसी कार्यसूचीमा नराख्न सभामुखलाई चौतर्फी दवाव बढ्दै गएको छ ।