आज :

प्रजातन्त्र दिवसः राष्ट्रपतिदेखि दलका शिर्ष नेताहरुले यस्तो दिए शुभकामना सन्देश

काठमाडौं । प्रजातन्त्र दिवसको अबसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना सन्देश दिँदै सामाजिक न्याय, समानता र समृद्धिका माध्यमबाट जनतालाई वास्तविक परिवर्तनको अनुभूति गराउँदै लोकतान्त्रिक गणतन्त्रलाई जनताको जीवनसँग जोड्नुपर्ने बताएकी छन् ।

लोकतान्त्रिक प्रणालीले मात्र नागरिकलाई एकताको मालामा गाँसेर बलियो राष्ट्र निर्माण गर्ने बताउँदै भण्डारीले प्रजातन्त्र स्थापनाका लागि भएका अनेकौँ सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण समेत गरेकी छन् ।

शुभकामना सन्देशमा जहानियाँ निरङ्कुश शासनविरुद्ध बलिदानीपूर्ण सङ्घर्षको परिणामस्वरूप २००७ सालको आन्दोलन सफल भएर आधारभूत मानवअधिकारको बहाली गराई नेपाली जनताले राजनीतिक स्वतन्त्रता हासिल गरेको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मानस्वरूप प्रत्येक वर्ष फागुन ७ गते हामी प्रजातन्त्र दिवस मनाउँछौँ भन्दै त्यसपछिको सात दशकभन्दा लामो उतारचढावपूर्ण यात्रामा नेपाली जनताको निरन्तर सङ्घर्षकै प्रतिफलस्वरूप लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न सफल भएको उल्लेख गरिएको छ ।

उपराष्ट्रपति नन्दबहादुर पुनले प्रजातन्त्र दिवसले देशको भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधिनता र नेपाली जनताको स्वतन्त्रतालाई अझै सुदृढ गर्दै विकास र समृद्धिको मार्गमा अगाडि बढ्न प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।

“विभिन्न कालखण्डमा भएका सशस्त्र सङ्घर्ष, जनआन्दोलन, जनयुद्ध र २०६२/६३ को ऐतिहासिक जनआन्दोलनबाट प्राप्त भएको गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थालगायतका राजनीतिक उपलब्धिलाई संविधानले संस्थागत गरिसकेको छ । यी उपलब्धीको संरक्षण र रक्षामा हामी सबैले जोड दिनुपर्दछ” उपराष्ट्रपतिको शुभकामना सन्देशमा भनिएको छ ।

ऐतिहासिक जनआन्दोलनमार्फत् सार्वभौम नेपाली जनताले निरंकुश राणा शासन ढालेर प्रजातन्त्र स्थापना गरेको गौरवपूर्ण र अविस्मरणीय दिनको रुपमा यस दिवसलाई लिइएको स्मरण गर्दै उपराष्ट्रपतिले प्रजातन्त्र प्राप्तिका लागि भएको आन्दोलनमा आफ्नो जीवनको आहुति दिनुहुने महान वीर वीरंगनाप्रति श्रद्धासुमन अर्पण गरेका छन् ।

त्यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले २००७ सालको राजनीतिक क्रान्तिबाट प्राप्त सफलतामा टेकेर अघि बढ्दै जाँदा नै आज मुलुकमा सङ्घीय, लोकतान्त्रिक गणतन्त्रात्मक र समावेशी शासन प्रणाली स्थापना हुन सकेको उल्लेख गरेका छन् ।

शुभकामना सन्देशमा भनिएको छ, “वास्तवमै हामी आज स्वतन्त्र देशका सम्मानित र सार्वभौम नागरिक भएका छौँ । राजनीतिकरूपमा मुलुकले ठूलो फड्को मारेको छ । यसका लागि २००७ सालको राजनीतिक क्रान्तिदेखि २०४६ र २०६२/६३ सालको जनआन्दोलनसम्मको ठूलो भूमिका रहेको छ ।”

देउवाले २००७ सालको क्रान्ति र नागरिक अधिकार प्राप्तिका लागि विभिन्न समयमा भएका राजनैतिक आन्दोलनका क्रममा ज्यानको आहुति दिने शहीद, अग्रज नेता तथा कार्यकर्ता सबैमा सम्मान व्यक्त गर्दै सम्पूर्णमा प्रजातन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

सभामुख अग्नी सापकोटाले पनि प्रजतान्त्र दिवसको अबसरमा शुभकामना दिएका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायत विभिन्न दलका नेताहरुले शुभकामना सन्देश दिएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal