काठमाडौँ । नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ ले अमेरिकी सहायक विदेशमन्त्री गोनाल्ड लुले फोन संवादको क्रममा नेपाली नेताहरुलाई दिएको धम्की ठाडो र नांगो हस्तक्षेप भएको बताएका छन् ।
वैद्यले शनिबार विज्ञप्ति जारी गरेर लुले फोन गरी एमसीसी पास गर्न प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीलाई दिएको अल्टिमेटमसहितको धम्की र एमसीसीकी उपाध्यक्ष फातिमा सुमारले दिएको अन्तर्वार्ताले नेपालको स्वाधीनतामाथि ठाडो र नाङ्गो हस्तक्षेप भएको भन्दै विरोध भत्सर्ना गरेका छन् ।
वक्तव्यमा वैद्यले अमेरिकी अधिकारीहरुले यसरी धम्क्याउँदा पनि त्यसको प्रतिवाद गर्नुको साटो नेपाली काङ्गेसको केन्द्रीय कार्यसमितिको बैठकले एकमतले एमसीसी परियोजनालाई अनुमोदन गर्ने निर्णय गर्नु र एमाले र माकेले यसबारे अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया नदिएर अमेरिकी हस्तक्षेपप्रति मौन स्वीकृति जनाउनु अमेरिकी साम्राज्यवादप्रतिको चरम दलालीको अभिव्यक्ति भएको बताएका छन् ।
यस्तो छ विज्ञप्तिः
अमेरिकी साम्राज्यवादी शासक वर्गले हिन्द–प्रशान्त रणनीति अन्तर्गतको एमसीसी परियोजनालाई नेपालको संसदबाट अनुमोदन गराउन चर्को दवाव दिंदै आएको छ । त्यसको पछिल्लो कडी परियोजनाकि उपाध्यक्ष फतिमा सुमारले यही फागुन १६ गते तदनुसार फेब्रुुअरी २८ तारिखसम्म अनुमोदन गरिसक्नु पर्ने भनी यही माघ २३ गते काठमाण्डु पोष्टमा प्रकाशित अन्तर्वार्ता मार्फत् दिएको ठाडो आदेश हो । त्यसले मात्र नपुुगी अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले पुनः अस्ति माघ २७ गते नेपाली कांग्रेसका सभापति तथा गठबन्धन सरकारका वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष के पी शर्मा ओली र नेकपा ९माके०का अध्यक्ष पुुष्पकमल दाहाललाई प्रत्यक्ष फोनबाट तोकिएको सीमाभित्र एमसीसी परियोजना संसदबाट अनुमोदन गर्नुपर्ने र सो नगरे चीनको दवावका कारण अनुमोदन हुन नसकेको भनी बुझ्ने भनेर शीर्ष नेताहरुलाई धम्क्याइएको कुरा विभिन्न संचार माध्यममा प्रकाशित भएको छ । यसलाई सम्बन्धित पार्टीका आधिकारिक स्रोतहरुले पुुष्टि समेत गरेका छन् । यो अमेरिकी साम्राज्यवादको दादागिरी र एउटा सार्वभौम देशको राष्ट्रिय स्वाधीनतामाथिकोे ठाडो र नाङगो हस्तक्षेप हो ।
अर्कोतिर, अमेरिकी साम्राज्यवादको यस प्रकारको प्रत्यक्ष हस्तक्षेप हुँदा पनि त्यसको प्रतिवाद गर्नुको साटो नेपाली काङ्गेसको केन्द्रीय कार्यसमितिको बैठकले एकमतले एमसीसी परियोजनालाई अनुमोदन गर्ने निर्णय गर्नुका साथै अमेरिकाले हाम्रै अनुरोधमा दिएको र हामीले नै अनुमोदन गर्छौ भनी प्रतिबद्धता जनाएको स्थितिमा अमेरिकी सरकारले परियोजनाबारे के हुँदैछ भनेर सोध्नु सामान्य कुरा हो भनी नेकाका नेता प्रकाशशरण महतले अमेरिकी साम्राज्यवादको तावेदारी गरेका छन् । एमाले र माकेले यसबारे अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया नदिएर अमेरिकी हस्तक्षेपप्रति मौन स्वीकृति जनाएका छन् । यो नेपालका शासक वर्गको अमेरिकी साम्राज्यवादप्रतिको चरम दलालीको अभिव्यक्ति हो ।
हाम्रो पार्टी अमेरिकी साम्राज्यवादको यस प्रकारको प्रत्यक्ष हस्तक्षेप र संसदवादी राजनीतिक पार्टीहरुले गरेको अमेरिकी साम्राज्यवादको नाङ्गो दलालीको तीव्र भत्र्सना र घोर विरोध गर्दछ । साथै, देशको राष्ट्रिय स्वाधीनतामाथि गंभीर खतरा मडारिइरहेको वर्तमान स्थितिमा एमसीसी परियोजनालाई खारेज गराउन र देशको सार्वभौमिकताको रक्षा गर्नका लागि सबै क्षेत्रबाट आवाज बुलन्द गर्नुका साथै सङ्घर्ष अगाडि बढाउन हामी सम्पूर्ण देशभक्त, प्रगतिशील, वामपन्थी तथा क्रान्तिकारी पार्टी, समुदाय र व्यक्तित्वहरुमा हार्दिक अपील गर्दछौं ।