काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता गठबन्धनका दुई शिर्ष नेताबीच शनिबार विहान भेटवार्ता भएको छ । प्रधानमन्त्रीको आग्रहमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।
तीन शिर्ष नेताबीच विवादित मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)बारे छलफल भएको बताइएको छ । स्रोतहरुका अनुसार प्रधानमन्त्री देउवाले आउँदो प्रतिनिधिसभा बैठकमा एमसीसी टेबुल गरौं भन्ने प्रस्ताव राखेका थिए । एमसीसी पास नगरे अन्तर्राष्ट्रिय रुपमा नेपालको छबि बिग्रिने भन्दै प्रधानमन्त्रले पास गर्न साथ दिन आग्रह गरेका थिए । प्रधानमन्त्रीले सके सहमति गरौं नभए संसदमै आफ्ना कुरा राखेर अगाडि बढौं समेत भनेको बताइएको छ ।
छलफलको क्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसी सहयोग परियोजना मात्रै नभएको भन्दै यसलाई यथास्थितिमा पास गर्न नसकिने र राष्ट्रिय सहमति आवश्यक भएको बताए । प्रचण्डले सरकारको तर्फबाट अमेरिकासँग छलफल गर्न समेत प्रधानमन्त्रीलाई सुझाव दिएका थिए ।
छलफलको क्रममा प्रचण्डले प्रधानमन्त्री अगाडि बढे आफूहरु गठबन्धन छोड्न तयार रहेको समेत चेतावनी दिएका थिए । उनले पार्टीहरु चुनावमा होमिसकेको भन्दै एमसीसीको फैसलाबारे निर्णय त्यसपछि मात्रै गर्न प्रस्ताव समेत राखेका थिए ।
त्यसैगरी एकीकृत समाजवादीका अध्यक्षक नेपालले एमसीसी अहिलेकै अवस्थामा संसदमा पास गर्न नसकिने बताएका थिए । उनले प्रधानमन्त्रीले जबरजस्ती एमसीसी अगाडि बढाए त्यसको गम्भीर परिणाम हुने चेतावनी दिएका थिए ।
प्रचण्ड र नेपालको कुरा सुनेपछि प्रधानमन्त्रीले पुनः एमसीसीबारे आआफ्ना पार्टीका धारणा संसदमै राखौं र त्यसैलाई लिएर चुनाव जाऔं भन्ने प्रस्ताव राखेका थिए । तर, प्रचण्ड र नेपाल तयार नभएपछि बैठक विना निष्कर्ष टुंगिएको बताइएको छ।