
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच फोन बार्ताको क्रममा भएको विषयलाई सार्वजनिक गरेको छ । अध्यक्ष प्रण्डले ओलीसँग एमसीसी सहयोग परियोजना मात्रै रहेन यसमा सत्तापक्ष र प्रतिपक्षको मानसिकताबाट माथि उठेर छलफल गर्न आग्रह गरेको सचिवालयले जनाएको छ ।
शुक्रबार प्रचण्डका स्वकीय सचिव रमेश मल्लले सामाजिक संजालमा दुई अध्यक्षबीच भएको फोन बार्ताबारे जानकारी गराएका छन् । मल्लले एमसीसीबारे ओलीले गैरजिम्मेवार बनेको बताएका छन् ।
मल्लले लेखेका छन्, “अध्यक्ष कमरेड प्रचण्डले एमसीसी अहिले सामान्य आर्थिक सहयोगको परियोजना मात्र रहेन, यो राष्ट्रिय राजनीतिको मुद्दा बनिसक्यो । यसमा सत्तापक्ष र प्रतिपक्षको मानसिकताबाट माथि उठेर छलफल गरौं । यसमा तपाईं र तपाईंको पार्टीको धारणा स्पष्ट गर्नुस् र यसमा राष्ट्रिय सहमति निर्माण गर्ने कोसिस गरौं । देश अहिले निर्वाचनमा होमिएको र एमसीसीमा दलहरूबीच र राष्ट्रिय रुपमा सहमति बन्ने स्थिति नभएको अवस्थामा सम्बन्धित पक्षसँग यसलाई निर्वाचन पछि लैजाने कुरा गरौं भन्नुभएको हो ।”
प्रचण्डका कुरालाई ओलीले गम्भीरतापूर्वक नलिएको मल्लले जानकारी गराएका छन् । ओलीले सत्तापक्षसँग बहुमत भएको भन्दै पास गर्नुस् भन्दै जवाफ फर्काएको मल्लले बताएका छन् । त्यस्तै, ओलीले गैर सांसदमा रहँदासम्म संसद चल्न नदिने जानकारी समेत गराएका थिए ।
प्रचण्ड र ओलीबीच भएको फोन वार्तालाई लिएर एमाले नेताहरु सामाजिक संजालमा सार्वजनिक गरेपछि प्रचण्डको सचिवालयले औपचारिक जानकारी गराएको हो ।