
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर यथास्थितिमा एमसीसी पास गर्न नसकिने जानकारी गराएका छन् ।
सत्ता गठबन्धनको मुख्य दल माओवादी केन्द्रले यसअघि नै अहिलेकै अवस्थामा एमसीसी पास गर्न नसकिने बताउँदै आएको थियो । एकीकृत समाजवादीका अध्यक्ष नेपालले पनि एमसीसी जस्ताको त्यस्तै पास गर्न नसकिने बताएका छन् । यसअघि प्रचण्ड र नेपालबीच बुधबार भेटवार्ता भएको थियो ।
प्रचण्ड निवासमा भएको भेटमा दुबै नेता अहिलेकै अवस्थामा एमसीसी पास गर्न नसकिने भन्दै संयुक्त रुपमा प्रधानमन्त्री देउवालाई भेटेर जानकारी गराउने सहमत भएका थिए ।
प्रधानमन्त्रीलाई भेट्न प्रचण्ड र नेपाल बालुवाटार पुगेका थिए । प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारका अनुसार एमसीसी र चुनावबारे छलफल भएको थियो ।
प्रधानमन्त्री देउवा फागुन २ गते बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबुल गर्ने पक्षमा छन् भने प्रचण्ड त्यसको विपक्षमा छन् ।
एमसीसीको विषयलाई लिएर सत्ता गठबन्धन संकटमा परेको चर्चा भइरहेको बेला शिर्षा नेताहरुबीच एक पक्षीय र बहु पक्षीय छलफल जारी छन् । आजै नेपाली काँग्रेसका नेता शेखर कोइरालाले प्रचण्डलाई भेटेका छन् । भेटमा कोइरालाले चुनावी गठबन्धनको पक्षमा आफू नभएको जानकारी गराएको बताइएको छ ।
एमसीसीबारे भने कोइरालाले सार्वजनिक अभििव्यक्त दिएका छैनन् । उनले पछिल्ला दिनमा भेटवार्तालाई तीब्रता दिइरहेका छन् । यसअघि कोइरालाले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई समेत भेटेका थिए ।