
काठमाडौं । कोरोना भाइरस संक्रमणको तेस्रो लहर फैलिएसँगै लगाइएको जोर बिजोर प्रणाली आजबाट हटाइएको छ । उपत्यकाका तीनवटै प्रमुख जिल्ला अधिकारीको बैठकले सुरुमा सार्वजनिक तथा निजि सवारी सधानमा जोर बिजोर प्रणाली लगाएको थियो ।
जोर बिजोरले झन भिडभाड मात्रै पढाउने भन्दै विरोध भएपछि प्रशासनले निजि सवार सधानमा मात्रै जोर बिजोर प्रणाली लागु गरेको थियो । उपत्यकामा चल्ने निजी गाडी, ट्याक्सी र मोटरसाइकलमा जोर बिजोर प्रणाली लागू गरिएको थियो ।
कोरोना संक्रमण घटेसँगै आइतबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले जोर-बिजोर प्रणाली हटाउने निर्णय गरेको हो ।
यसैबीच आइतबार नै सीसीएमसीले फागुन १ गतेबाट शिक्षण संस्था खोल्न पाउने सिफारिस गरेको छ । १२ वर्षमाथिका बालबालिकाका लागि नियमित कक्षा सञ्चालन गर्ने र १२ वर्षभन्दा कम उमेर समूहका बालबालिकाका लागि आलोपालो दिनमा कक्षा सञ्चालन गर्न सीसीएमसीसीको बैठकले सिफारिस गरेको छ ।
कोभिड तेस्रो लहरका कारण माघको पहिलो हप्तादेखि विद्यालय बन्द छन् । पहिलो चरणमा माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय भएको थियो । त्यसपछि सीसीएमसीसीकै सिफारिसमा माघ मसान्तसम्म विद्यालय बन्द गर्ने निर्णय सरकारले गरेको थियो ।
यस्तै रात्रिकालीन व्यवसाय डान्स बार, दोहोरी, नाचघर, क्लब, सिनेमा हल, जिमखाना लगायत फागुन १ गतेदेखि राति १० बजेसम्म सञ्चालनको लागि पनि सीसीएमसीसीले सिफारिस गरेको छ ।