काठमाडौं । आज राष्ट्रिय सभाको रिक्त हुने लागेका पदको लागि चुनाव हुँदैछ । फागुनबाट रिक्त हुने १९ पदका लागि सातै प्रदेशमा आज निर्वाचन हुन लागेको हो ।
निर्वाचन आयोगका अनुसार अहिले ९ बजेबाट दिउँसो ३ बजेसम्म मतदान हुनेछ भने भोलि मात्रै मतगणना हुनेछ र आजै राती नै नजिता आउन सक्नेछ ।
सातवटै प्रदेशमा सत्ता गठबन्धन दलको चुनावी तालमेल गरेका छन् । मधेस प्रदेशबाहेक ६ प्रदेशमा नेकपा एमाले एक्लैले भिड्न लागेको छ । मतभारको हिसाबले एमालेले पराजित हुने देखाएको छ । मतदाता नै प्रदेश सांसद र नगरपालिका र गाउँपालिकाका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्ष हुने भएकोले मत क्रस हुने सम्भावना कम हुन्छ ।
प्रदेश १ मा तीन, मधेस प्रदेशमा दुई, वाग्मतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा तीन, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा तीन गरी १९ पदको लागि ४३ जनाले उम्मेदवारी दिएका छन् । सत्ता गठबन्धन दलहरुले साँझा उम्मेदवार उठाएका छन् ।
आयोगका अनुसार सात प्रदेशमा आठ मतदानस्थल र १४ मतदान केन्द्रको व्यवस्था गरिएको छ । कोरोना महामारीलाई लक्षित गरेर स्वास्थ्य सुरक्षा मापदण्डमा कडाइ गर्दै मतदान हुने आयोगले जनाएको छ ।
आयोगकाअनुसार पालिकाका १४ सय ९३ जना र प्रदेश सभाका ५ सय ३२ जना गरेर २ हजार २५ जना मतदाता छन् । प्रदेश सभा सदस्यको मतभार ४८ र गाउँपालिका तथा नगरपालिका प्रमुख र उपप्रमुखको मतभार १८ हुनेछ ।
एमालेका खाली हुने आठ सिटमा गठबन्धन दलले भागबण्डा गरेका हुन् । एमालेले सातै प्रदेशमा आफ्ना उम्मेदवार अघि सारेको छ । मधेस प्रदेशमा भने एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच तालमेल भएको छ ।
आउँदो फागुन २० गतेदेखि एमालेका आठ, नेकपा एकीकृत समाजवादीका चार, नेकपा माओवादी केन्द्रका चार र नेपाली कांग्रेसका तीन राष्ट्रिय सभा सदस्यको पदावधि समाप्त हुने भएकाले चुनाव गर्न लागिएको हो । राष्ट्रिय सभा सदस्यको पदावधि समाप्त हुनुभन्दा ३५ दिनअघि नै चुनाव गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।