
काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनको आजबाट मौन अवधि शुरु भएको छ । यही माघ १२ गते १९ सदस्यको लागि हुने निर्वाचनको लागि राती १२ बजेबाट मौन अवधि शुरु भएको हो ।
मौन अवधि शुरु भएसँगै अब राजनीतिक पार्टी वा उम्मेदवारले प्रसार प्रसार गर्न पाउने छैनन् । निर्वाचन आयोगले आइतबार एक विज्ञप्ति जारी गरेर मौन अवधि शुरु हुनुभन्दा अगाडि नै निर्वाचन चिह्न लगायतका प्रचार सामग्री हटाउ र आचरण पालना गर्न आग्रह गरेको थियो ।
मौन अवधि शुरु भएसँगै उम्मेदावरले मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका निर्वाचन चिह्न, प्रचार सामग्री हटाउनु पर्नेछ । त्यस्तै, एसएमएस, फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यमबाट पनि निर्वाचन प्रचार गर्न नपाइने आयोगले जनाएको छ ।
राष्ट्रिय सभामा रिक्त सदस्यको लागि सात वटै प्रदेशमा माघ १२ गते मतदान हुँदैछ । निर्वाचनमा नौ दलका ४३ जना उम्मेदवार छन् ।
प्रदेश १ मा तीन, मधेस प्रदेशमा दुई, बागमतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा तीन, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा तीन पदका लागि निर्वाचन हुनेछ ।
सातै प्रदेशमा कुल २०२५ मतदाता छन् । निर्वाचन आयोगका अनुसार निर्वाचनमा हरियो र रातो रंगको मतपत्र प्रयोग हुने छ । रातो रंगको मतपत्र स्थानीय तहका प्रमुख र उपप्रमुखले प्रयोग गर्नेछन् । हरियो रंगको मतपत्र भने प्रदेश सभा सदस्यले प्रयोग गर्ने छन् ।
स्थानीय तहका प्रमुखको मतभार १८ र प्रदेश सभा सदस्यको मतभार ४८ निर्धारण गरिएको छ ।