
काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले पदाधिकारीको निर्वाचन यही माघ २७ गते गर्ने भएको छ । महाधिवेशनपछि बसेको पहिलो केन्द्रीय समिति बैठकले पदाधिकारी चयन गर्न सकेको थिएन ।
नेता वर्षमान पुन उपचारमा रहेकोले पदाधिकारीको टुंगो लगाउन माओवादी केन्द्रले ढिलाई गरेको थियो । पुन भोलि ५ बजे उपचारबाट स्वादेश फिर्ता हुन लागेका छन् । पुन सहभागी हुने गरी यही २७ गते सारिएको केन्द्रीय समिति बैठकले पदाधिकारीको निर्वाचन गर्ने माओवादी नेताहरुले बताएका छन् ।
पुस ११ देखि १८ मा सम्पन्न राष्ट्रिय महाधिवेशनले केही खाली राखेर केन्द्रीय समिति निर्वाचितन गरेको थियो । पुस २५ बसेको पहिलो बैठकले अध्यक्षमा प्रचण्डलाई सर्वसम्म निर्वाचित गरेको थियो भने अन्य पदाधिकारीमा सहमति जुट्न सकेको थिएन ।
त्यसपछि माओवादी केन्द्रले माघ ८ मा बोलाएको केन्द्रीय समिति बैठक कोरोनाका कारण बस्न सकेन। अध्यक्ष प्रचण्डले शनिबार आन्तरिक परिपत्र जारी गर्दै रोकिएको केन्द्रीय कमिटी बैठक माघ २७ बस्ने र उक्त बैठकले पदाधिकारीको टुंगो लगाउने जनाकारी दिएका छन् ।
माघ २७ गते बस्ने बैठकले केन्द्रीय समितिलाई पूर्णता दिनुको साथै पोलिटब्युरो र स्थायी समिति समेत गठन गर्ने बताइएको छ ।