
काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’ ले नेकपा (माओवादी केन्द्र) र विप्लव नेतृत्वको नेकपासँग एकता हुन नसक्ने भएका छन् । वैद्यले मंगलबार संवाद डबलीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड अहिलेको व्यवस्थाको संरक्षको रुपमा अगाडि बढेको र विप्लवसँग राजनीतिक लाइन नमिलेका कारण पार्टी एकता सम्भव नभएको बताए ।
कार्यक्रममा वैद्यले आफूहरुले अहिलेको राज्यसत्ता तथा संसदीय व्यवस्थालाई स्वीकार गर्न नसक्ने बताउँदै भने, ‘प्रचण्डजीको पुरै जोड के छ भने, माओवादी केन्द्रका साथीहरूका जोड के छ भने यो संविधानको असली संरक्षक हामी हौँ । संसदीय व्यवस्थाको असली संरक्षक हामी हौँ भन्ने हिसाबले उहाँहरु गइरहनुभएको छ । त्यसकारणले उहाहरु सँग एकताको सम्भावना छैन’ पूर्वमाओवादीहरुबीच पार्टी एकताको कुरा भइरहेपनि आफ्नो पार्टीसँग एकता सम्भव नभएको वैद्यले बताए ।
त्यसैगरी वैद्यले मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसालसँग पनि एकताको सम्भावना नदेखिएको बताए । सिंहसँग पनि राजनीतिक लाइन नमिलेकै कारण पार्टी तत्काल सम्भव नभएको बताए ।
कार्यक्रममा बोल्दै महासचिव वैद्यले एमसीसी परियोजना राष्ट्रघाती भएकाले खारेज हुनुपर्ने बताए । त्यसैगरी लिपुलेक, लिम्पियाधुरा र कालापानीको समस्या जटिल भइरहेको भएपनि वर्तमान सरकार केपी शर्मा ओली नेतृत्वको सरकार जति पनि बोल्न नसकेको बताए । उनले राष्ट्रिय स्वाधिनताको निम्ति सशक्त रुपमा उभिनुपर्ने आवश्यकता समेत सो क्रममा औंल्याए ।