
काठमाडौं । कोरोना भइरसको संक्रमण बढ्दै जान थालेपछि सरकारले सार्वजनिक सेवा लिन खोप कार्ड अनिवार्य गर्ने तयारी गरेको छ । सरकारी कार्यालय, होटल, रेस्टुरेन्ट, सिनेमा हल, रङ्गशाला, हवाईयात्रा, पार्क आदिमा प्रवेश गर्दा अनिवार्य कोरोनाविरुद्धको खोप लगाएको कार्ड वा कार्डको फोटो देखाउनु पर्ने भएको छ ।
यो नियम माघ ७ गतेदेखि लागु हुने गृहमन्त्रालयले जनाएको छ । अहिलेसम्म कुनै पनि डोज खोप नलगाएको भए तुरुन्तै लगाइहाल्न मन्त्रालयले आग्रह गरेको छ । माघ ७ गतेसम्म कम्तीमा एक मात्रा भए पनि खोप लगाएको कार्ड वा कार्डको फोटो लिएर मात्रै सार्वजनिक ठाउँमा जान पाइनेछ ।
यसैबीच सरकारले सार्वजनिक ठाउँमा २५ जनाभन्दा धेरै जम्मा हुन रोक लगाएको छ । सीसीएमसीको सिफारिसमा गृहमन्त्रालयले सार्वजनिक ठाउँमा भिडभाड हुन नदिन २५ जनाभन्दा धेरै भेला हुन रोकेको हो ।
अर्को सूचना नभएसम्म सार्वजनिक ठाउँमा २५ जनाभन्दा बढी भेला हुने गरी भेला, मेला तथा महोत्सव नगर्न/नगराउन आवश्यक व्यवस्थासहित जिल्लामा परिपत्र गरिएको गृह मन्त्रालयले जनाएको छ ।
गृह मन्त्रालयका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार सङ्क्रमणको अवस्थाअनुसार जिल्ला प्रशासन कार्यालयले जिल्ला र पालिकाको अवस्थाको विश्लेषण गरी लचकता अपनाउन वा कडाइ गर्न सक्ने छन् ।
यस्तै गृह मन्त्रालयले सार्वजनिक ठाउँमा राजनीतिक भेला तथा धेरै जना उपस्थित हुने गरी प्रशासनिक, सामाजिक एवम् त्यही प्रकृतिको कार्यक्रम नगर्न आह्वान गर्ने, अत्यावश्यक नियमित कार्यक्रमको हकमा स्थानीय प्रशासनको अनुमति लिएर गर्ने व्यवस्था मिलाउने जनाएको छ । गृह मन्त्रालयले मातहतका सुरक्षा निकाय र प्रशासन कार्यालयलाई निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको छ ।