
काठमाडौँ । नेकपा (एमाले) को नयाँ अध्यक्षमा केपी शर्मा ओली पुनः निर्वाचित भएका छन् । चितवनको सौराहामा भएको १० औँ राष्ट्रिय महाधिवेशनले ओलीलाई अध्यक्षमा निर्वाचित गरेको हो । अध्यक्षसहित उपाध्यक्ष, सचिव र केन्द्रीय सदस्यमा सहमति नभएपछि आज विहान मतदान भएको थियो ।
भरखरै सम्पन्न मतगणना अनुसार ओलीले १८०८ मत ल्याएर दोस्रो पटक एमाले अध्यक्षमा निर्वाचित भएका हुन् । ओलीसँग प्रतिस्पर्धा गरेको नेता भीम रावलले २२४ मत मात्रै प्राप्त गरेका छन् । ओलीले मतगणनाको सुरुबाटै फराकिलो अग्रता लिएका थिए ।
ओलीले सहमतिमा नेतृत्व चयनको लागि गरेको प्रयास असफल भएपछि चुनावी प्रक्रिया सुरु भएको थियो । रावलले निर्वाचनबाटै नेतृत्व चयन गर्नुपर्नेमा जोड दिँदै आएका थिए ।
यसअघि रावलले चुनावमा आचारसंहित उलंघन र केही जाइलाग्ने गतिविधि भएको सार्वजनिक रुपमै बोलिसकेका थिए । मतगणनाको परिणाम सार्वजनिक हुनै लाग्दा भने रावलले चुनावमा अध्यक्षबाटै धाँधली भएको बताएका छन् । चुनाव परिणामपछि आफू निटक नेताहरुसँगको छोटो छलफलमा रावलले ओलीले आचारसंहिता उलंघन गरी धाँधली गरेको बताएका थिए ।
रावलले आफ्नो पक्षमा मत हाल्ने कार्यकर्तालाई धम्की समेत दिएको बताउँदै परिणाम स्वाभाविक नभएको बताए । अस्वाभाविक परिणाम स्वीकार गर्न नसकिने बताउँदै रावलले यसलाई आम कार्यकर्तामाझ लैजानु पर्ने बताए ।
अध्यक्षमा पाराजित भए एमालेको कुनै पनि कमिटीमा नबस्ने घोषणा गरिसकेका रावलले त्यसमा पुनःविचार नहुने बताए । उनले आफू एमालेका कुनै कमिटी नबस्ने समेत बताइसकेका छन् ।