
काठमाडौं । नेकपा (एमाले) को आगामी नेतृत्वको लागि भएको मतदानको गणना सुरु भएको छ । चितवनको सौराहमा जारी १० औं राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्वको लागि विहान मतदान भएको थियो ।
रातभर सहमतिको प्रयास सफल नभएपछि बिहान ४ बजेदेखि सुरु भएको मतदान साढे १० बजे सकिएको थियो । मतदानमा सबै प्रतिनिधिहरुले मतदान गरेका छैनन् । कुल २ हजार १५३ मतदातामध्ये २ हजार ११४ मत खसेको बताइएको छ ।
मतगणना स्थलमा रहेका एक नेताका अबको एक घण्टाभित्र मतगणनाको परिणाम सार्वजनिक गरिनेछ । विद्युती मतदान भएकोले गणना गर्न चाँडो हुने भएको हो ।
एमालेको नयाँ नेतृत्वको लागि केपी शर्मा ओली र भीम रावल अध्यक्षमा उम्मेदवारी दिएका छन् । उपाध्यक्ष, सचिव र केन्द्रीय सदस्यमा सहमति नजुटेपछि चुनावी प्रक्रिया सुरु गरिएको हो ।
एमालेमा अध्यक्ष, उपाध्यक्ष, सचिव र केन्द्रीय सदस्यका केही क्लस्टरमा मतदान भएको थियो ।
अध्यक्षको लागि केपी शर्मा ओली र भीम रावल प्रतिस्पर्धामा छन् भने उपाध्यक्षमा सुवासचन्द्र नेम्वाङ, रामबहादुर थापा, घनश्याम भुसाल, अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, सुरेन्द्र पाण्डे र युवराज ज्ञवाली प्रतिस्पर्धामा छन् ।
सचिवमा ९ जना चुनावी मैदानमा छन् । टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण बिस्ट, भीम आचार्य र टंक कार्कीले उम्मेदवारी दिएका छन् ।
मत गणना स्थलमा रहेका एक नेताका अनुसार मतगणनाको सुरुवातीमै अध्यक्षमा ओलीले निकै अग्रता लिएका छन् । त्यस्तै उपाध्यक्षमा कडा प्रतिस्पर्धा भइरहेको देखिन्छ । प्रारम्भीक रुपमा अरुको तुलनामा पूर्वमाओवादी नेता बादलको कम मत आएको छ । ती नेताले यो सुरुकै मत गणना भएको र सबै गणना भइसकेपछि बादलले पनि जित्ने दाबी गरे ।