
काठमाडौँ । नेकपा (एमाले) को १० औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनको भएको निर्वाचनमा मतदान भइरहेको छ । सहमतिको प्रयास असफल भएपछि मंगलबार विहानैबाट मतदान सुरु भएको थियो ।
केन्द्रीय निर्वाचन आयोगका एक सदस्यका अनुसार कुल मतदाता संख्या २ हजार १५३ रहेको छ । विद्युतिय मतदान भइरहेको छ । निर्वाचन समितिले बनाएको आचारसंहिता विपरित अध्यक्ष निवर्तमान अध्यक्ष केपी शर्मा ओली पक्षले प्यानल बनाएरै प्रचार गरेको छ ।
ओलीसहित मतदान गर्नुपर्नेको सूची नै बनाएर प्रतिनिधि तथा मतदाताको हातहातमा बाडिएको छ । रावल पक्षले यसको विरोध गरिरहेको छ ।
यसैबीच एमालेको ओली पक्षले निर्माण गरेको ‘साइबर सर्कल’ ले रावललाई मतदान गर्नेलाई लखेट्ने चेतावनी दिएको छ । सुरुमा साइबर सेना नाम दिइएपनि महाधिवेशनको मुखमा साइबर सर्कल नाम राखिएको थियो ।
ओलीले निर्वाचन आचारसंहिता विपरित प्यानल बनाएको विरोध गर्ने रावल निकट नेताहरुलाई साइबर सर्कलले चेतावनी दिएको हो । एक नेताका अनुसार मौखिक र मोवाइलमा म्यासेज गरेर धम्की दिइएको छ । ‘हामीले आचारसंहिता विरोध कार्य भयो भन्दा, आफूलाई साइबर सर्कलको सदस्य बताउने कमरेडहरुले धम्की दिनुभयो । चुप लाग नभए सौराहबाटै लखेटिदिउला भन्नुभयो” रावल निकट एक नेताले भने । उनले अन्य पार्टीहरुबीच हुने चुनावजस्तै बनाएर ओलीले धाँधली गर्न खोजेको आरोप लगाए ।
यसैबीच रावल पक्षका नेता नरबहादुर बिकले नेतृत्व चयनमा धाँधली भएको भन्दै सार्वजनिक रुपमै विरोध जनाएका छन् । उनले प्यान नबनाउने, हात जोडेर भोट माग्ने पार्टीको निर्णय उल्लंघन भएको र अब चुनाव निश्पक्ष नभएको ठोकुवा गरे । रावललाई भोट नदिनु भनेर मतदाताको स्वतन्त्र निर्णय गर्ने अधिकारमै बन्देज गरी राजनीतिक अपराधीकरण गरेको बिकले आरोपसमेत लगाए ।
अध्यक्षमा उम्मेदवार रावलले साइबर सर्कल आफू पक्षका नेताहरुमाथि जाइलागेको बताएका छन् । उनले नाम नलिएर सामाजिक संजालमा निर्वाचन आयोगको आचारसंहिता विपरित कार्य भयो भन्दा साइबर सर्कल जाइलागेको बताएका छन् । उनले यस्तो कार्यले पार्टीमा धब्बा लाग्ने भन्दै निर्वाचन आयोग र सुरक्षाकर्मीलाई रोक्न आग्रह गरेका छन् ।
“चितवनमा एमालेको मतदान शुरू भएपछि मतदान इलाकामा पार्टी निर्वाचन आयोगको आचार संहिता विपरीत समूह सूची बाँड्ने र त्यसको विरोध गर्नेमाथि जाइलाग्ने कार्यको निन्दा गर्दछु । उक्त कामले पार्टीमा धब्बा लाग्छ र लोकतन्त्रलाई कमजोर बनाउँछ ।यो रोक्न निर्वाचन आयोग र सुरक्षाकर्मीलाई आग्रह गरेको छु” रावलले ट्वीटरमा पोष्ट गरेका छन् । रावलको यो भनाईले ओलीले जितेपनि धाँधली गरेर जितेको भन्ने अर्थ लाग्ने देखिएको छ ।
एक अध्यक्षमा ओली र रावलबीच प्रतिस्पर्धा हुँदैछ भने ६ वटा पद भएको उपाध्यक्षमा सुवासचन्द्र नेम्वाङ, रामबहादुर थाप, घनश्याम भुसाल, अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, सुरेन्द्र पाण्डे र युवराज ज्ञवाली मैदानमा छन् । त्यस्तै, ७ सचिव पदमा पनि ओलीले टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण बिस्ट, टंक कार्की, भीम आचार्य र पद्मा अर्याललाई उम्मेदवार बनेका छन् ।