
काठमाडौँ । अन्ततः नेकपा एमालेको भावि अध्यक्षको लागि निवर्तमान अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष भीम रावलबीच चुनाव नै हुने भएको छ । ओलीले राखेको प्रस्ताव रावलले अस्वीकार गरेपछि चुनाव हुने भएको हो ।
ओलीले वरष्ठि उपाध्यक्षमा इश्वर पोखरेललाई प्रस्ताव गरेका थिए भने धेरै उपाध्यक्षमध्ये एक रावल पनि थिए । तर, ओलीको उक्त प्रस्ताव रावलले ठाडै अस्वीकार गर्दै चुनावी परिणाम स्वीकार गर्ने बताए ।
मध्यराति बन्दसत्रमा बोल्दै ओलीले आफूले एकताको लागि धेरै प्रयास गरेको समेत बताए । ओलीले रावललाई अध्यक्ष मण्डलको बैठकमा उपाध्यक्ष बस्न भनेका थिए ।
त्यसैगरी निवर्तमान उपमहासचिव घनश्यम भुसाल र भीम आचार्यलाई ओलीले पदाधिकारीमा राख्न चाहेनन् । दुबै जनाको १९ जना पदाधिकारीमा नाम नभएपछि असन्तुष्ट भएका छन् । उनीहरुले पनि रावलको प्यानलबाट उम्मेदवारी दिने तयारी गरेका छन् ।
एमालेको निर्वाचन आयोगका प्रमुख डा. विजय सुब्बाका अनुसार ९ देखि साढे ९ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको जानकारी दिए । यो अवधिमा कति जनाले उम्मेदवारी दर्ता गर्ने भन्ने अहिले नै टुंगो नलागेको बताइएको छ । अध्यक्षमा मात्रै चुनाव हुन्छ वा अन्य पदमा पनि उम्मेदवारी पर्छ भन्ने कुरा अहिले भन्न नसकिने निर्वाचन समितिले जनाएको छ ।
ओलीले वरिष्ठ उपाध्यक्षको दाबी गरिरहेका सुवासचन्द्र नेम्वाङलाई मनाएका छन् । त्यो ठाउँमा पोखरेललाई ल्याएका ओलीले अर्को महत्वपूर्ण पद महासचिवमा शंकर पोखरेललाई ल्याएका छन् । यसमा विष्णु पौडेलले दाबी गरिरहेका थिए । त्यस्तै, महासचिवको दाबी गर्दै आएका भुसाललाई भने ओलीले भाउ नै दिएनन् ।
ओलीको अध्यक्षतामा वरिष्ठ उपाध्यक्षः ईश्वर पोखरेल, उपाध्यक्षहरुः युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा बादल, विष्णु पौडेल, सुवास नेम्वाङ रहेका छन् भने महासचिवः शंकर पोखरेल ।
त्यसैगरी उपमहासचिवहरुः प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, विष्णु रिमाल गरी तीन जना रहेका छन् भने सचिवहरुः टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट, पद्मा अर्याल रहेका छन् ।