
काठमाडौं । भारतीय अवरोधका कारण कालापानी र लिम्पियाधुराबाहेक अन्य सबै ठाउँमा जनगणना सङ्कलन कार्य सकिएको छ । केन्द्रीय तथ्याङ्क विभागले तोकिएकै समयमा जनगणना संकलन कार्य सकेको हो । कात्तिक २५ गतेदेखि सुरु गरेको जनगणना सङ्कलन कार्य सुरु गरिएको थियो ।
विभागका अनुसार विशेष कारणवश गणनामा सहभागी हुन छुटेको भए ११७८ नम्बरमा फोन गरेर तथ्याङ्क टिपाउन सक्नेछन् । मंसिर मसान्तसम्ममा सबै जिल्लाबाट जनगणनासहितको विवरण भरिएको प्रश्नावली केन्द्रमा आइपुग्नेछन् ।
विभागले देशभर गणक र सुपरिवेक्षक परिचालन गरी जनगणना सुरु गरेको थियो । भारतीय अवरोधबीच लिपुलेक क्षेत्रका छाङरू र तिङ्कर गाउँको पनि जनगणना भएको छ । भारतले आफ्नो भूमि हुँदै त्यहाँ जान नदिए पछि गणकहरु जोखियुक्त नेपाली बाटो हुँदै त्यहाँ पुगेका थिए ।
संकलन गरिएको जनगणना र गणक सुरक्षालाई मध्यनजर गर्दै विभागले उनीहरुलाई हेलिकप्टरमार्फत दार्चुला सदरमुकाम ल्याइसकेको छ ।
अब कालापानी र लिम्पियाधुरा क्षेत्रका नाभिडाङ, गुन्जी, नाभी, कुटीलगायत गाउँको जनगणना गर्न भने बाँकी छ । भारतीय सुरक्षाकर्मी तैनाथ गरिएका कारण त्यहाँ गणकलाई पठाउन जोखिम भएको हो । यो क्षेत्रको यसअघि भएको गणना र घरधुरी, जन्म-मृत्युदर र सेटलाइट म्यापका हिसाबले सर्वेक्षणसहित जनगणना गर्ने तयारी भइरहेको विभागले जनाएको छ ।
जनगणना सङ्कलनको काम सकिएको बारे विभागले आज पत्रकार सम्मेलन गरेर जानकारी गराउने तयारी गरेको छ । बिहान ११ बजे विभागमै पत्रकार सम्मेलन हुने विभागले जनाएको छ ।