काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का प्रचण्डले कसैले देशमा प्रतिगमनको सपना देखेमा आफू विद्रोहको झण्डा उठाउन तयार रहेको बताएका छन् ।
सोमबार चितवनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने ‘अहिले पनि प्रतिक्रान्तिको सपना देख्छन् भने हामी फेरि विद्रोहको झण्डा उठाउन तयार छौं भनेर जनतामाझ भन्नुपर्यो।’ देशको राजनीति माओवादी केन्द्रको वरिपरि नै रहेको जनतामा सन्देश फैलाउन कार्यकर्तालाई निर्देशन दिए।
आफ्नै आत्मसमीक्षाबाट सुरु गर्यो भने माओवादीलाई फेरि जाति विशेष, विचार विशेष पार्टी बनाउन सकिने दाबी गर्दै प्रचण्डले हामीहरु सुस्ताएका थियौँ, अब फेरि जागेका छौँ भनेर जनतासामु भन्न सक्नु पर्ने बताए । उनले प्रतिगमनकारीलाई परास्त गरेपछि फेरि जनतामा आशा र भरोसा पैदा हुन थालेको बताए।
कार्यक्रममा एक प्रसंगमा बोल्दै प्रचण्डले संघ, प्रदेश र स्थानीय तहको निर्वाचन एउटै मितिमा गर्नुपर्ने पक्षमा आफू रहेको बताए। उनले तीनै तहको एकैचोटी गर्ने प्रस्ताव आफूले गरेको बताउँदै नभए संघको पहिले, वा संघ र प्रदेश सँगसँगै र स्थानीय तह त्यसपछि गर्ने पक्षमा आफू रहेको बताए ।