
काठमाडौं । उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व सकिएको छ । आज विहान उदाउँदो सूर्यलाई श्रद्धा र निष्ठापूर्वक मनाइने छठ पर्व आजबाट विधिवत रुपमा सम्पन्न भएको छ ।
हिजो बेलुका जलासयहरुमा भेला भएर अस्ताउँदो सूर्यलाई अर्घ्य दिई रातभर भजन किर्तनगरी आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिइएको हो ।
कात्तिक शुक्ल चौथी देखि सप्तमीसम्म विभिन्न विधिपूर्वक मनाइने छठ पर्वको पहिलो दिन व्रतालुहरुले व्रत सङ्कल्प गरी स्नान गरेर चोखो नितो खाएका थिए ।
पहिलो दिनको यो विधिलाई स्थानिय बोलीचालीको भाषामा ‘नहाय–खाय’ भनिन्छ । मूलतः सूर्य देवको उपासना गरिने छठ पर्वको दोस्रो दिन पञ्चमी तिथिमा व्रतालुले दिनभरी निराहार व्रत बसी राति सख्खरमा पकाइएको खीर मात्र खाएर ‘खरना’ विधि गरेका थिए । त्यस्तै, षष्टी तिथीको दिन अर्थात सन्ध्याकालीन र आज प्रभातकालीन सूर्यको अर्घ्य दिएपछि चार दिवसीय छठ पर्व विधिवत रुपमा समापन भएको हो ।
छठ पर्वका लागि पूजा सामग्री र नैवेद्य तयार गर्दा अत्यन्त सावधानीका साथ ख्याल गर्नु पर्छ । यस पर्वमा ढिकी–जाँतोमा परम्परागत तरिकाले कुटिएको र पिसिएको गहुँ तथा चामलको पीठोबाट बनाइएका ठकुवा, भुसुवा, मिष्टान परिकार, माटोको भाडामा जमाइएको दही, उखु, मौसम अनुसारका फलफूल, कोसिया कुरवार लगायतका पूजा सामग्रीहरूले सूर्यलाई अर्घ्य दिने प्रचलन रहेको छ ।
निर्धनता, निःसन्तानबाट मुक्ति पाउन एवम् मानव जातिको उत्थान गर्न र आरोग्यका लागि यो पर्व मनाउने गरिएको जनविश्वास रहेको छ ।