
काठमाडौं । फेरि पेट्रोलियम पदार्थको मूल्य बढेको छ । सरकारले बढाएको मूल्य फिर्ताको लागि विद्यार्थीलगायत विभिन्न संघ संगठन आन्दोलनमा रहेको बेला फेरि मूल्य बृद्धि गरिएको छ ।
नेपाल आयल निगमले बुधबार साँझ विज्ञप्ति जारी गरेर नयाँ मूल्य बढाएको छ । नयाँ मूल्यअनुसार पेट्रोल, डिजेल र मटितेलका प्रतिलिटर ३ रुपैयाँ बढेको गरेको छ । त्यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ७५ रुपैयाँले बढाएर १५ सय ७५ रुपैयाँ कायम गरिएको छ ।
नयाँ मूल्यअनुसार पेट्रोल लिटरको १३६ रुपैयाँ पुगेको छ भने डिजेल मटितेलको प्रतिलिटर मूल्य ११९ रुपैयाँ पुगेको छ । त्यसैगरी आन्तरितर्फको हवाई इन्धन प्रतिनलिटर ५ रुपैयाँ बढाएर १०१ रुपैयाँ पुर्याइएको निगमका सहायक प्रवक्ता पुस्कर कार्कीले जानकारी दिएका छन् ।
अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनको मूल्य अब प्रतिकिलोलिटर ८९५ अमेरिकी डलर पुगेको छ । निगमले गत कात्तिक १२ गते पनि तेलमा प्रतिलिटर ३ रुपैयाँ ग्यासमा प्रतिसिलिन्डर ५० रुपैयाँले वृद्धि गरेको थियो ।
मूल्य समायोजन पछि पनि निगमलाई पेट्रोलमा प्रति लिटर रू.१७.५८, डिजेलमा १३.१४ रुपैयाँ घाटा रहेको निगमले बताएको छ । ग्यासमा प्रति सिलिन्डर रू. ६५७.८४ घाटा छ । १५ दिनमा निगमलाई २ अर्ब ६२ करोड घाटा हुने निगमको प्रक्षेपण छ ।