
काठमाडौं । सिन्धुलीगढीमा अंग्रेज फौजलाई हराएकै दिनमा सत्तापक्ष र प्रमुख प्रतिपक्ष नेकपा एमाले कार्यकर्ताबीच झडप भएको छ । सिन्धुलीगढीमा अंग्रेज सेनालाई गोरखाली सेनाले हराएको दिनको सम्झनामा जिल्लामा आयोजित कार्यक्रममा प्रमुख अतिथि कसलाई बनाउने भन्नेमा दलहरुबीच विवाद भएको थियो ।
सिन्धुली सदरमुकाममा आयोजित एक कार्यक्रममा एमाले महासचिव इश्वर पोखरेललाई प्रमुख अतिथि बनाइएकोप्रति सत्तापक्षले विरोध जनाएका थिए । तर, विजयोत्सव समारोहमा भने सत्ता गठबन्धनले विरोध नजनाउने जनाएको छ । सत्ता पठबन्धन दलका स्थानीय नेताहरुले पोखरेललाई प्रमुख अतिथि बनाउन नहुने भन्दै विरोध गर्दै आएका थिए ।
विवादबीच कमलामाई नगरपालिकाले सदरमुकाम सिन्धुलीगढीस्थित खेल मैदान नजिकै बाल उद्यान पार्कको उदघाटन गर्ने र बीपी कोइराला र पुष्पलाल श्रेष्ठको अर्धकदको सालिक अनावरण गर्ने कार्यक्रममा पोखरेललाई प्रमुख अतिथि बनाएको थियो । कार्यक्रममा सहभागी हुन पोखरेल मंगलबार नै सिन्धुलीगढी गएका थिए ।
सत्तारुढ दलका स्थानीय नेता कार्यकर्ताहरुले लोकतान्त्रिक चोकमा रहेको बाल उद्यान पार्कलाई घेरेपछि त्यसको प्रतिकारमा एमालेका कार्यकर्ताहरु जुटेका थिए । दुबै समूहबीच झडपको अवस्था सिर्जना भएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।
जिल्ला प्रशासन कार्यालयले स्टल बजार, जुनारचोक, बसपार्क, ग्वाङ् खोला पुल, हस्पिटल रोड क्षेत्रभित्र आज बिहान ११ बजेदेखि राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेको छ ।