
काठमाडौं । आज तिहारको तेस्रो दिन आज लक्ष्मी पूजा गरिँदैछ । बिहानै घर आँगन लिपपोत गरी बेलुका दीपावली गरी ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा गर्ने चलन छ ।
आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली र भर्याङलगायत सरसफाइ गरी दीपावली गरिन्छ । लक्ष्मी पूजा गरिने कार्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि पनि भनिन्छ । वर्षभर मनाइने चार प्रमुख रात्रिमध्ये यो पनि एक हो ।
लक्ष्मी पूजाका लागि आँगनदेखि मुलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरेर चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाइ लक्ष्मी आउने बाटो देखाइन्छ । पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्ज्वलन गरी झिलिमिली बनाइन्छ ।
धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमका अनुसार मैनबत्ती बाल्ने चलन बढ्दै गए पनि दियोमा तेल राखेर बत्ती बाल्नु नै वैदिक परम्परा छ । दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाइ विधिपूर्वक लक्ष्मीको पूजा आराधना गरिन्छ । आज बेलुका भैलो खेलिन्छ । आज भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटी दिइन्छ ।
लक्ष्मी पूजाका अवसरमा सहर बजारमा दीपावली गरी झिलिमिली बनाइन्छ । परम्पराअनुसार कतै आजै बिहान गाईको पूजा गर्ने प्रचलन समेत छ ।