
काजिराम गौतम – समाजमा जब नैतिक मूल्य मर्दछ, त्यहाँ अराजकता उद्दण्डता तथा अन्याय जस्ता कुराहरू बढ्दै जान्छन । जहाँ योग्यताका कुरा नैतिक र वैचारिकरूपमा विश्लेषण गरिन्न, त्यहाँ ज्ञान मर्दछ,नैतिकता मर्दछ र मानवीयता पनि मर्दछ । झण्डै यस्तै अवस्थामा पुगेको थियो ऊबेलाको ग्रीस । तर, दार्शनिक सुकरात जो knowledge is virtue अर्थात ज्ञान नै सबैभन्दा ठूलो सदगुण हो भन्थे उनले समाजलाई आफ्नो ज्यान दिएर भए पनि ज्ञान सद्गुणको रूपमा सिकाएर गए । त्यस बेला फिलिप राजा थिए, जो आँफूलाई इश्वरको सन्तान भन्थे अनि उनका न्याय दिने न्यायमूर्तिहरू ज्ञानका आधारमा नभएर वाक पटुताका आधारमा नियुक्त हुन्थे, जो लोजिकललाई इलोजिकल र आवश्यक परे त्यसैको उल्टो बनाएर व्याख्या गर्दथे । फलस्वरूप सुकरातमाथि ‘युवा पुस्तालाई बराला र ठूलाको अनादर गर्ने बनाए’ भन्ने आरोपमा ‘हेमलक’ विष पान गर्न बाध्य पारियो । तर सुकरातले आफ्ना शिष्यलाई मात्र ज्ञानका माध्ययमबाट राम्रो नराम्रो छुट्याउन सकिन्छ र सत्य सधैं अडिग हुन्छ, अज्ञानीको संगत नगर्न र ज्ञानीको अनुसरण गर्न सिकाएका थिए । सुकरातलाई उनकै प्रतिस्पर्धी दार्शनिक धाराका पक्षधर सोफिस्टहरूलाई पनि महान विद्वान मान्थे तर सत्ताले उनको विचारलाई कुचल्ने प्रयास गर्यो, उनको ज्यान लियो ।
सुकरातसँग ज्ञान लिएका उनका एक महान शिष्य प्लेटो, जसले समयको अन्तर सँगै गुरूको ज्ञान नै सदगुण हो भन्ने विचारमा संदेह व्यक्त गरे र आधारभूत सद्गुणको धारणा अगाडि ल्याए । त्यसमा उनले विवेक, साहस, व्यवहारमा सन्तुलन र समुचित न्यायलाई समेटे अनि wisdom is knowledge अर्थात ‘विवेक नै सद्गुण हो’ भने । तर पछि उनका शिष्य अरस्तुले प्लेटोको विचारलाई परिमार्जन गरेर वौद्धिकता वा ज्ञान र नैतिकतालाई अलग गरेर हेर्नु पर्ने विचार व्यक्त गरे । वौद्धिक व्यक्ति पनि नैतिकता हीन हुन सक्छ भन्ने ठानेर उनले मध्यमार्ग अपनाउनु पर्ने विचार अघि सारे तर उनि पछिका दार्शनिकहरूले मध्यमार्ग सबै कुरामा उपयुक्त नहुने हुनाले प्लेटोकै चार आधारभूत सदगुणबाट नैतिकता खोज्नु पर्ने र मध्यमार्ग छोड्नु पर्ने मान्यतालाई जोड दिए । तसर्थ ज्ञानका विविध क्षेत्रमा जीवनमा चौरासी पुस्तक लेखेका अरस्तुलाई भन्दा प्लेटोलाई नै दार्शनिकहरूले वढी महत्व दिए अर्थात विवेकलाई नै सदगुण मान्नु पर्ने विचारलाई वढी महत्व दिए ।
तर जव अरस्तु मरे, तब नैतिकता र दर्शनको अध्ययन पनि खत्तम भयो किनकी ग्रीस र सारा युरोपमा इसाइ धर्मको प्रभाव वढ्यो र दर्शन शास्त्रीय पद्धतिबाट दर्शनको अध्ययन गर्ने शैलीमा अंकुश लाग्यो । किनकी त्यो बेला नैतिकता बाइबलबाट निकालियो जुन मोरालिटी कम रिलिजन बढी थियो । समाजमा क्रिश्चियानिटी हावी हुञ्जेल नैतिक दर्शनले ठाउँ पाएन । त्यसैले दर्शनकालागि अन्धकार युग (सन ५०० – १०६६) आयो किनकी मानिसको सोच्ने सीमा खुम्चियो र कुण्ठित भयो ।
समग्र युरोपले यो कुण्ठित मानसिकता वा अन्धकार युगबाट छुटकारा पाउन सन १५९८ मा देकार्तको जन्मसम्म पर्खनु पर्यो । देकार्त वुद्धिवादी थिए, उनी वुद्धिले ठीक बेठीक छुट्याउनु पर्ने कुराका पक्षपाती थिए त्यसैले उनले वेस्टर्न इथिक्स मानवसँग सम्वन्धित नभएर समाजसँग सम्वन्धित भएको हुनाले रिलिजनलाई त्याग्नु पर्ने विचार राखे । यसै वुद्धिवादका अर्का दार्शनिक स्पिनोजा हुन । उनलाई मानिसहरू “गड इनटोक्सिकेटेड फिलोसोफर“ भन्थे । उनले भनेको रोचक कुरा त ‘गड इज ल’ हो । उनी राग र द्वेश दुबैबाट मानिस अनैतिक हुन्छ, तसर्थ उपरोक्त कुरा मानिसले त्याग्नु पर्छ र वुद्धिले काम लिनु पर्छ भन्ठान्थे । त्यसैले उनी हर्ष वा दुःख परेका ठाउँमा कहिल्यै जाँदैन थिए । छिमेकमा मृत्यु शोक परेको छ भने पनि जाँदैन थिए, भनेर उनको आलोचना पनि गरिन्थ्यो भने उनी त्यहाँ भावनामा बगेर दुःखी हुनुपर्छ भनेर डराउँथे । तर उनको यो वुद्धिवादी तर्कलाई एमिली जोलाले जोडदार खण्डन गरेको पाइन्छ, फलस्वरूप वुद्धिवादको प्रभाव समेत समाप्त भयो । जोलाको विचारमा मानवता भनेको नै दुःखमा दुःखी हुनु र सुखमा खुसी हुनु थियो र त्यो नै मानवीय मूल्य थियो । यस पश्चात युरोपमा मानिसलाई सुखी बनाउनु नै मोरालिटी हो, भन्ने जबरजस्त विचार जेरेमी बेन्थमले ल्याए । उनको त्यो विचारलाई उपयोगितावाद भनियो । यस वादले जीवनमा खुशी बन्नु पर्छ र नेतृत्वले जनता खुशी बनाउन सक्नु पर्छ भन्ने विचार व्यक्त गरे । यस बारेमा उनको एउटा भनाई “each is to count as one, neither more or less than one” ज्यादै महत्वपूर्ण छ । यसको आशय कोही मानिस ठूलो वा सानो हुन्न,सबै समान हुन त्यसैले सबैलाई सुखी बनाउदै जानु पर्ने र सुख जोड्न पनि सकिने विचार राखे अनि त्यसका लागि उनले सुखी बन्ने नौ आयाम पनि बताए , जसमा फ्रेन्डसिप नै ठूलो सुख हो भने ।
तर उनका अनुयायी जे एस मिलले बेन्थमको दुई व्यक्ति बीचको सुख जोड्न सकिने कुरालाई स्विकार गरेनन । त्यसैले मिलले म्याक्सिमम ह्याप्पीनेस अफ म्याक्सिमम नम्बर अर्थात वहुजनहिताय वहुजन सुखाय भन्ने अवधारणा अघि सारे, जुन पछि प्रजातन्त्रको आधार बन्यो । उनले अधिक जनको हित स्वीकारे पछि अधिक अर्थात मेजोरिटीले माइनोरिटीलाई नलत्याओस भनेर Essay on Liberty नामक पुस्तक मार्फत बोल्ने स्वतन्त्रता सहित मानवका लागि फन्डामेन्टल राइटहरू उल्लेख गरिदिए र डेमोक्रेसी नैतिक मूल्यमा आधारित हुन्छ भने ।
त्यसैले मानिसहरू सिद्धान्तका पछि हिड्नुपर्ने हुन्छ र सिद्धान्त राजनीतिको आधार बन्छ भन्ठाने । यसै आधारमा राजनीतिक दलहरू सिर्जना हुन्छन र उनीहरूले सिद्धान्तको प्रतिनिधित्व गर्छन । यदि दलहरू सिद्वान्त विहीन भए भने मात्र उनीहरूमा प्रोपग्यान्डा बाँकी रहन्छ र प्रजातन्त्र मजवुत हुँदैन । मिलले दिएको यो विचारबाट संसारमा प्रजातन्त्र अपरिहार्य भयो र जुन सुकै राज्य प्रणाली भएपनि सबै देशले प्रजातन्त्र विभिन्न ढाँचामा स्वीकारेकै छन तर यता मिलको बहुजन सुखायको अवधारणालाई योगमैत्री छैन भनेर त्यसको आलोचना गरेपश्चात जर्मन दार्शनिक इम्मानुयल कान्टले सत्य संकल्प (Good Will) को विचारधारा अघि सारे । यसमा कान्टको ‘duty for the sake of duty’ भन्ने विचारलाई पालन गर्नका लागि कठोर नैतिकताको रूपमा लिइन्थ्यो । जस अन्तर्गत उनले कानुन सबैका लागि मान्य हुनु पर्ने, मानवताको सम्मान सबैले गर्नुपर्ने र नैतिकता जबरजस्ती थोपर्न नहुने मत राखे । पछि कान्टकै उपर्युक्त दोस्रो मतबाट मानवलाई मानव सम्झेर व्यवहार गर्नुपर्ने भावनानै मानवतावाद (humanism) को रूपमा विकसित भयो ।
कान्ट जर्मनका भए पनि उनको प्रभाव इंगल्याण्ड सम्म पर्यो । उनका शिष्य हेगेलले त राज्यनै भगवानको स्वरूप भएको हुनाले समाजको सेवा गर्नु पर्छ,पूजा गर्नु पर्छ भन्दै राज्यमा हर मानिसको स्थान हुन्छ र सबैले समाजमा के गर्न सकिन्छ भनेर सोच्नु पर्ने बताए ।
त्यस पछिका अर्का हेगेलका शिष्य एफ ब्राड्लेले ब्रिटिस समाजलाई नै मोरालिटीको आधार बनाए । समाजमा हरेकले आफ्नो स्थान खोज्नुपर्ने र देश अनि समाजलाई के दिन सकिन्छ भनेर सोच्नुपर्ने भन्ने विचारबाट इंगलिस समाजलाई सिंचित गरे । आजसम्म पश्चिमी समाजका ब्रिटेन, फ्रान्स र जर्मनीमा यो भावना खुब मौलाएको पाइन्छ ।
बेलायत धेरै मानवतावादी दार्शनिकहरूको जननी हो । त्यहाँका अर्का मानवतावादी दार्शनिक हुन डेविड ह्युम । उनले सबै मानिस समाजका लागि उपयोगी हुन्छन तर कस्को उपयोग कहाँ हो भनेर छुट्याउने जिम्मा राज्यको नेतृत्वको हो भनेका छन । हाम्रा जस्ता देशमा यो विचारलाई एक पटक स्मरण गरिदिए असल र योग्य मानिसहरू ठीक ठाउँमा पक्कै पुग्ने थिए । ह्युमले मानवीयताको उच्च स्थानलाई अक्षुँण राख्न मानिस कानुनको वलीवेदीमा चढ्न होइन बरू कानुन मानवताको उत्थानका लागि बनाइएको हुन्छ भन्दै कान्टको कानुनी सर्वोच्चतालाई इन्कार गरेका छन । त्यस्तै उनले एमिली जोलाको विचारलाई महत्व दिँदै राग द्वेश बाट माथि उठे पनि इमोसन त्याज्य नभएको स्विकारेका छन । बरू उनले इमोशनलाई वुद्धिले निर्देशित गर्दै मानव प्रेम गर्नु पर्ने बताए ।
उता, यसैको सँघारमा जर्मनीमा नित्सेले अस्तित्ववादको बीज रोपे । अस्तित्ववादी नित्से भगवानलाई धिक्कार्थे, किनकी भगवान छन् भन्ने लागुन्जेल मानिस सुख-दुःखको जिम्मेवार भगवानलाई नै ठान्छ भन्ने उनको बुझाई थियो । यसको तात्पर्य मानिसले आफ्नो भाग्य आँफैले निर्धारण गर्ने हो र आँफुले गरेको कामको जिम्मेवारी पनि आँफैले लिनु पर्छ भन्ने हो । तसर्थ अस्तित्ववादले आफ्नो अस्तित्वको जिम्मेवार आँफैलाई ठान्यो ।
यही वादको प्रभावले कुनैबेला सोह्रौं टुक्रामा विभाजित जर्मनी एक ढिक्का भयो र बीसौं शताव्दिको मध्य सम्ममा ठूलो शक्ति बन्यो । कर्मसँग रेस्पोन्सिबिलिटी जोडिएर आयो यो वादमा, त्यसैले सेन्स अफ रेस्पोन्सिबिलिटी इज दि एसेन्स अफ हुमानिटी भन्ने भनाई यसको स्लोगन बन्यो । यसले गीताको सारको रूपमा रहेको कर्मन्यवादिकारस्ते अर्थात कर्म छान्ने स्वतन्त्रता वा exercise of freedom लाई जोड दिएर फ्रिडम र रेस्पोन्सिबिलिटीलाई साथसाथै लैजानु पर्ने कुरालाई अघि बढायो । यो बिचारधारा वा वादलाई सार्त्रले थप बल पुर्याए र पुरै फ्रान्समा मानिसको नशा नशामा कुदाए । सार्त्रको बारेमा एउटा रोचक कुरा सुन्न पाइन्छ ।
एक दिन जर्मन सेनाले फ्रान्सको म्याग्नट लाइन (फ्रान्सको जर्मनीसँगको युद्धको बेलाको सुरक्षा घेरा) पार गरेछन । यो देखेपछि त्यही नजिकै लुगा धुने एक धोबी महिलाले जर्मन सेनालाई ढुंगा हानिछन । तब जर्मन सेनाले उनलाई तिम्रो देशको सेनाले हामीसँग हार्यो, हामी विजयी भयौं भनेछन । तब ती महिलाले सेनाले हारे पनि फ्रेन्च जनताले हारेका छैनन । त्यसैले हर फ्रेन्च तिम्रो प्रतिवाद गर्न टोल टोलबाट उठ्नेछन भनिछन । यो समाचार अखवारमा आयो अनि हर फ्रेन्च प्रतिकारको लागि हातमा भएको हतियार लिएर आए र जर्मन सेनालाई परास्त गरे । पछि उक्त धोबी महिलाको खोजी भयो तर उनी त सार्त्रले अखवारमा छापेको समाचारमा एक काल्पनिक पात्र पो रहिछन ।
यसरी हालसम्म विभिन्न वादहरूले समाजमा विभिन्न नैतिक दायित्वहरू देखाएका छन । हर वादहरू मानव कल्याण र हितकै खातिर बनेका छन तर समयानुसार त्यसप्रति मानिसका धारणाहरू बदलिएका छन । तैपनि सबै परिस्थितिमा यसको यथोचित अध्ययन र विवेचना हुनु अनि समाज कल्याणका लागि यसैलाई नैतिक आधार बनाउनु जरूरी छ । नेपालको सन्दर्भमाः भन्ने हो भने नेपाली समाज पछिल्लो समयमा झनै अनैतिक बन्दै गएको पाईन्छ, यसमा सिधारुपमाले भन्ने हो भने राज्यसत्ता सन्चालक तथा माथिल्ला तहका नेताहरुबाट नैतिकताको त कुरै छाडौं शक्तिको आडमा राज्य र सम्बन्धित पार्टीको नियम कानुन पनि उल्लङ्घनको परिणाम हो भन्दा फरक पर्दैन ।
वर्तमान समयमा मुलधारका राजनीतिक पार्टीका मुख्य नेतृत्व तथा परिचित नेताहरुको त कुरै छाडौं आफूलाई क्रान्तिकारी दर्याउने पार्टीका कार्यकर्ता झन भ्रष्ट भएका छन् नै मुख्य नेतृत्व पनि समाजको हित भन्दा पनि आत्म केन्द्रीत भएको पाइन्छ । नेपाली राजनीतिक आकाशमा कुनै एकजना पनि नेता नैतिकवान र पूर्ण विवेक चलाउने देखिएको पाइएन तर कम्तिमा पनि जे एस मिलले ‘म्याक्सिमम ह्याप्पीनेस अफ म्याक्सिमम नम्बर अर्थात वहुजनहिताय वहुजन सुखाय’ भन्ने अवधारणा अघि सारे, जुन पछि प्रजातन्त्रको आधार बन्यो त्यतिमात्रै आँगालेको भए धेरै क्रान्तिकारी मान्न सकिन्थ्यो । तर उनिहरु म्याक्सिमम ह्याप्पीनेस अफ देयर फेमेली,केन्सीप एण्ड सराउन्डिङ अर्थात परिवार र आफन्तजन हिताय–सुखाय तिर उन्मुख छन्, अनि उनिहरुबाट आम नेपाली नागरिकले के अपेक्षा गर्ने ? उनिहरुका क्रान्तिका खोक्रा कुरा र भाषणलाई पत्याइदिनु पर्ने ? उनिहरुका आसेपासे आफन्तको लागि बलिदानी गरिदिनु पर्ने ? देश र जनताको निम्ति भनेर उठाइएको चन्दाबाट व्यक्तिगत घर–बंगला निर्माण अनि सात पुस्तालाई पुग्ने सम्पत्ति थुपार्दा आँखा चिम्लिएर उनिहरुको भजन गाउनु पर्ने ? अनि यस्ता घृणितहरुबाट समाज रुपान्तरणको आस भरोसा गरेर नैतिकवान अनि देशभक्त कसरी मान्ने ? ढोंगीहरुका क्रान्तिकारी कुरा र खोक्रा भाषण जनताले पत्याईदिनु पर्ने ?