
काठमाडौँ । एक नम्बर प्रदेशमा आज नेकपा एमाले नेतृत्वको सरकार ढल्दैछ । एमाले विभाजनसँगै अल्पमतमा परेका मुख्यमन्त्री भीम आचार्यले आज बस्ने प्रदेशसभाको बैठकबाट विश्वासको मत लिैदैछन् ।
मुख्यमन्त्री आचार्यले राखेको विश्वसको मत सम्बन्धी प्रस्तावमाथि आजै मतदान हुने प्रदेशसभा सचिवालयले जनाएको छ । साढे १२ बजे बस्ने बैठकमा मुख्यमन्त्रीले पेस गरेको विश्वासको मत सम्बन्धी प्रस्तावमाथि छलफलपछि आजै मत विभाजन गर्ने कार्यसूची रहेको छ ।
मुख्यमन्त्री आचार्यले विश्वासको मत नपाउने पक्काजस्तै छ । प्रदेशसभामा ९२ जना सदस्य छन् । विश्वासको मत पाउनका लागि ४७ जनाको समर्थन आवश्यक पर्छ । एमालेसँग सभामुखसहित ४१ जना मात्रै छन् भने प्रतिपक्षी गठबन्धनमा ५० जना सांसद छन् ।
गत भदौं १० गते मुख्यमन्त्री नियुक्त भएका आचार्यले कात्तिक ७ गते विश्वासको मत लिने तयारी गरेका थिए । तर काङ्ग्रेसभित्रको किचलोका कारण बैठक आजसम्मका लागि सरेको थियो ।
सत्तापक्षले प्रदेश नम्बर १ मा नेकपा (एकीकृत समाजवादी)को नेतृत्वमा सरकार बनाउने निर्णय गरिसकेको छ । एमाले विभाजनमा एकीकृत समाजवादीतिर लागेका प्रदेशसभा सदस्य राजेन्द्र राई मुख्यमन्त्री बन्ने भएका छन् । एसले उनको नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको छ ।
यसैबीच विश्वासको मत नपाउने अवस्था आएपछि प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिनेबारे छलफल गरिरहेका छन् ।