
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाको पहिलो भ्रमण स्कटल्याण्ड भएको छ । यसअघि पहिलो भ्रमण गर्ने परम्परालाई ताड्दै प्रधानमन्त्री देउवाले स्कटल्यान्डको ग्लास्गोमा हुन लागेको यूएनएफसीसीसीको सम्मेलनमा भाग लिन आज बेलायत प्रस्थान गरेका छन् ।
जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय खाका संरचना महासन्धि (यूएनएफसीसीसी) को २६ औं सम्मेलन (कोप–२६) मा सहभागी हुन २० सदस्यीय प्रतिनिधिमण्डलसहित प्रधानमन्त्री शुक्रबार बेलायत प्रस्थान गरेका हुन ।
आज विहान प्रधानमन्त्री नेतृत्वको उक्त टोली कतार एयरको उडानबाट लन्डन प्रस्थान गरेको छ । पाँचौँ पटक प्रधानमन्त्रीमा नियुक्त भएपछि देउवाको यो पहिलो स्कटल्यान्ड भएको छ ।
प्रधानमन्त्रीको भ्रमण टोलीमा वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादव, गृह सचिव टेकनारायण पाण्डे, अर्थ सचिव मधुकुमार मरासिनी, परराष्ट्र सचिव भरतराज पौड्याल, ऊर्जा सचिव देवेन्द्र कार्की, वन तथा वातावरण सचिव पेमनारायण कँडेल र राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारी सहभागी छन् ।
परराष्ट्र मन्त्रालयका अनुसार उक्त टोलीमा वन मन्त्रालयका सहसचिव राधा वाग्ले, परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल दुर्गाबहादुर सुवेदी, मन्त्रालयका उपसचिव रेवतीरमण पौडेल, राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष माधव कार्की र प्रधानमन्त्रीको निजी सचिवालयका उपसचिव जनक भट्ट पनि सहभागी छन् ।
त्यसैगरी भीआईपी सुरक्षा निर्देशिकाले तोकेको मापदण्डअनुसार सेनाका प्रमुख सेनानी प्रकाशबहादुर सिंह, नेपाल प्रहरीका डीएसपी कोमल शाह, सशस्त्र प्रहरी निरीक्षक रामहरि श्रेष्ठसहित ५ जना सुरक्षा अधिकृत र सरकारी सञ्चारमाध्यमका ३ जना पत्रकार प्रधानमन्त्रीसँगै लन्डन गएका छन् ।
भ्रमण दलमा बेलायतस्थित नेपाली दूतावासबाट सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । अक्टोबर ३१ देखि नोभेम्बर १२ सम्म ग्लास्गो सहरमा जलवायु परिवर्तनसम्बन्धी सम्मेलन हुनेछ । सम्मेलनमा भाग लिएपछि उनी कात्तिक १८ गते कतार एयरकै उडानबाट स्वदेश आउने कार्यक्रम तय भएको छ ।
यसैबीच प्रधानमन्त्रीको अनुपस्थितिमा दैनिक काम कारवाही समाल्ने जिम्मेवारी गृहमन्त्री बालकृष्ण खाँडले पाएका छन् ।