
काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन फेरि सरेको छ । महाधिवेशन निर्वाचन समितिले १४ औं महाधिवेशन मंसिर २७ देखि गर्ने प्रस्ताव गरेको छ । यो नेताहरुसँगकै सल्लाहमा प्रस्ताव गरेकोले अब काँग्रेस महाधिवेशन मंसिर २७ गते उद्घाटन हुने भएको छ ।
स्थानीय तहका अधिवेशन नसकिएका कारण संस्थापन र वरिष्ठ नेता रामचन्द्र पौडेल समूह महाधिवेशन सार्न तयार भएका हुन् ।
बुधबार बसेको निर्वाचन समितिको बैठकले रोकिएको वडा अधिवेशनहरु कात्तिक २७ गतेबाट सुरु गर्ने निर्णय गरेको छ । त्यस्तै, प्रदेश अधिवेशन मंसिरको १६ र १७ गते गर्ने र केन्द्रीय महाधिवेशन २७ देखि २९ सम्म गर्न प्रस्ताव गरिएको छ ।
निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले नयाँ मितिमा महाधिवेन गर्ने पार्टीले निर्णय गरेपछि कार्यतालिका बनाएर काम अगाडि बढाउने बताए ।
यसअघि कांग्रेसको महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्म गर्ने निर्णय भएको थियो । त्यसअनुसार १८ असोजमा सुरु भएको वडा अधिवेशन अझै सकिएको छैन ।
निर्वाचन समितिका अनुसार १३ जिल्लामा जिल्ला तहसम्मै अधिवेशन भइसकेको छ भने ५१ जिल्लामा स्थानीय तहसम्म अधिवेशन भएको छ । तर १३ जिल्लामा वडा अधिवेशन नै भएको छैन । त्यसमा पनि रौतहट र रसुवाको क्रियाशील सदस्यता विवाद नै टुंगिएको छैन ।
तोकिएको मितिमा महाधिवेशन गर्न सम्भव नभएका कारण मंगगलबार भएको छलफलमा सभापति शेरबहादुर देउवाले मंसिरभित्र केन्द्रीय महाधिवेशन गर्ने गरी कार्यतालिका बनाउन निर्वाचन समितिलाई निर्देशन दिएका थिए ।