
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्र पाण्डे बागमती प्रदेशको मुख्यमन्त्री बन्ने पक्का भएको छ । एकीकृत समाजवादीका बागमत प्रदेशसभाका संसदीय दलका नेता समेत रहेका पाण्डेले ५९ सांसदको समर्थनसहित मुख्यमन्त्री पदमा दावी पेश गरेका छन् ।
अल्पमतमा परेपछि मतदानमा नगई अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्रीबाट राजिनामा गरेकी थिइन् । मुख्यमन्त्री शाक्यले नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम बुधबार प्रदेश प्रमुख समक्ष लिखित राजीनामा बुझाएकी थिइन् ।
त्यसलगत्तै प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशको मुख्यमन्त्री पदमा नियुक्तिको प्रयोजनका लागि दाबी पेश गर्न आह्वान गरेका थिए । विहीबार दिउँसो ३ बजेसम्म प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई आफ्नो दाबी पेश गर्न भनिएको थियो ।
बागमती प्रदेशसभा १०९ सदस्यीय रहेको छ भने बहुमत पुर्याउन ५५ सांसद जरुरी हुन्छ । प्रदेश सभाका सदस्य रहेको एमालेका १३ जना प्रदेश सभाका सदस्यले एकीकृत समाजवादी रोजेसँगै एमाले सभामुखसहित ४३ सदस्यमा सीमित बन्दै प्रदेश सभामा बहुमत गुमाएको थियो ।
गठबन्धनबाट आगामी मुख्यमन्त्रीमा दावी पेश गरेका एकीकृत समाजवादीका संसदीय दलका नेता पाण्डेको पक्षमा ५९ जना सांसद छन् । जसमा माओवादी केन्द्रको २३, काँग्रेसको २२, एकीकृत समाजवादीको १३ र जसपाका एक जना प्रदेश सभाका सदस्य रहेका छन् ।
पाण्डेले भाेलि नै मुख्यमन्त्रीकाे नियुक्ति तथा शपथ दिलाउने प्रदेश प्रमुखकाे कार्यालयले जनाएकाे छ ।