
काठमाडौं । पूर्वमाओवादी नेता प्रभु साहले नेकपा एमाले छोडेका छन् । साह (नेकपा) विघटनसँगै एमालेतिर लागेका थिए । एमाले अध्यक्ष केपी शर्मा ओलीले धोका दिएको बताउँदै आएका साहले (नेकपा) पुनर्गठनको तयारी थालेका छन् ।
साहले नयाँ पार्टीको तयारी थालेका छन् । ओलीसँग एकताको लागि साहले राखेका माग पूरा नभएकोले अब एमालेमा फर्किन नसकिने बताएका छन् । उनले पार्टी पुनर्गठनको लागि ५१ सदस्यीय केन्द्रीय समिति बनाइसकेको बताइएको छ ।
पटकपटक मन्त्री भइसकेका पूर्वमाओवादी नेता साहले सार्वजनिक रुपमै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डमा स्खलन आएको बताउँदै आएका छन् । केही दिन पहिलेमात्रै साहले प्रचण्ड माओवादी नभएको समेत भनेका थिए ।
साह निकट एक नेताका अनुसार प्रचण्ड नसच्चिएसम्म माओवादी केन्द्रमा नफर्किने निष्कर्षसहित नयाँ पार्टीको तयारी भइरहेको छ । तर, प्रचण्ड आत्मसमिक्षा गरेर नयाँ ढंगबाट अगाडि बढ्न तयार भए भने माओवादीमा फर्केिने साह निकट नेताहरु बताउँछन् ।
एमालेमै हुँदा पनि आइटी आर्मी गठन गरेका साहले विप्लव नेतृत्वको नेकपाका नेताहरुसँग पनि छलफल गरिरहेका छन् । केही दिन पहिले नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्मासँग भेटवार्ता गरेका थिए । साह मधेसमा पहुँच राख्ने नतेामध्येको एक हुन् ।
सर्वोच्चले एमाले र माओवादी केन्द्र ब्यूताएपछि साहले एमाले रोजेका थिए । एमालेमा गएपछि माओवादी केन्द्रको सिफारिसमा साहको सांसद पद गुमेको थियो ।