
काठमाडौँ प्रदेश नं. १ मा विद्युत आपूर्ति सेवा बन्द भएको छ । कात्तिके झरिसँगै सुनसरीको दुहवीस्थित सबस्टेसन डुबानमा परेपछि प्रदेश नं १ का जिल्लाहरुमा विद्युत आपूर्ति बन्द भएको हो ।
दुहबी सबस्टेसन डुवान परेपछि मंगलबार साँझबाट मोरङ, सुनसरी, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुरलगायतका जिल्लाहरुमा विद्युत आपूर्ति बन्द भएको छ । सबस्टेसन डुबानमा परेपछि विद्युत आपूर्ति हुने लाइन काटिएको प्राधिकरणले जनाएको छ ।
सबस्टेसनको नियन्त्रण कक्ष डुबानमा परेपछि मुख्य उपकरणमा ठूलो क्षति पुग्न सक्ने र केही दिन विद्युत आपूर्ति बन्द हुन सक्ने प्राधिकरणले जनाएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सबस्टेसनभित्रको पानी हटाएर उपभोक्तालाई जतिसक्दो छिट्टो विद्युत आपूर्ति उपलब्ध गराउन आफूहरु प्रयासरत रहेको जानकारी दिए ।
सबस्टेसनको पानी हटाउनका लागि आवश्यक सहयोग गरिदिन स्थानीय सरकार, प्रशासन, नेपाली सेना, नेपाल प्रहरी लगायतलाई आग्रह गरिएको घिसिङले बताए । उनले दुवही सबस्टेसन बन्द हुँदा काबेली करिडोर १३२ केभी प्रसारण लाइन पनि बन्द भएको बताए । यसबाट काबेली करिडोरमा जोडिएका करिब १७० मेगावाटका जलविद्युत आयोजनाहरुको विद्युत उत्पादन पनि बन्द भएको छ ।