
धनगढी । लगातारको बर्षाले सुदूरपश्चिम प्रदेशका अधिकांश क्षेत्र डुवान तथा बाढीबाट प्रभावित भएका छन् । नदीमा पानीको सतह खतराको सूचीभन्दा माथि पुगेको छ । त्यस्तै, बर्षासँगै महाकाली र सेती नदीमा पानीको निकै बढेको छ । महाकाली नदी किनारका दार्चुला, कंचनपुर बस्ती डुबाउनमा परेका छन् ।
त्यस्तै पछिल्ला दिनमा सामाजिक संजालमा भाइरल भएको कंचनपुरको महाकाली करिडोरको ‘भाइरल रोड’ पनि बगाएको छ । मंगलबार विहानै रोड नजिक पुगेको महाकालीले कटान सुरु गरेको छ । भाइरल रोडको धेरै भाग नदीले बगाएको स्थानीयले बताएका छन् ।
त्यसैगरी सेती नदीमा पनि अत्यधिक बढेर पुल छोएको छ । डोटीको दिपायलमा रहेको पुल पानीले छोएको छ । कतिखेर पुलमाथिसम्म पनि आउने गरेको बताइएको छ । पानीले पुल छोएपछि अछाम र बाजुरा जाने यातायातका साधनलाई रोक लगाइएको छ ।
पुललाई पानीले छोएपछि मंगलबार विहानैबाट आवतजावत बन्द गरिएको छ । तराईबाट डोटीको सदरमुकाम सिलगढीलगायत छिमेकी जिल्ला अछाम तथा बाजुरा जानका लागि आएका दर्जनौं सवारी साधन पिपल्ला बजारमा रोकिएका छन् ।
डोटीको गोपघाट र दिपायलस्थित समूहगाढमा रहेको बाढी मापन केन्द्रका अनुसार जलसतह मापनभन्दा अधिक बढेको छ । सेती नदीमा गरिएको पानीको बहाव मापनअनुसार ८.४ क्युसेक पुगेको छ । जबकी ३.५ क्युसेक बाढीको बहाव हुँदा नदीमा बाढीको बढी खतरा हुने गर्दछ ।