
धनगढी । मनसुन सकिएलगत्ते फेरि सुरु भएको वर्षाले सुदूरपश्चिममा ठूलो क्षति पुर्याएको छ । किसानले भित्र्याउन लागेको धानबाली खेतबाटै बाढीले बगाएको छ । मनसुन बाहिरिएसँगै किसानले धान काट्न थालेका थिए ।
जल तथा मौसम महाशाखाले महाकाली, सेती र कर्णाली नदी खतराको सतह पार गरेको भन्दै सतर्क रहन आग्रह गरेको छ । अझै वर्षा जारी छ । अहिले पनि सुदूरपश्चिमका अछाम,डोटी, कैलाली, डडेल्धुरालगायतका अधिकांश जिल्लामा बर्षा भइरहेको छ ।
त्यसैगरी लुम्बिनी, गण्डकी र प्रदेश एकमा रातिदेखि नै ठूलो पानी परिरहेको छ । लगातार परेको पानीले पश्चिम राप्ती, नारायणी र गण्डकी नदीका विभिन्न ठाउँमा बाढी आएको छ ।
महाशाखाका अनुसार भोलिसम्मै यी नदीहरुमा बाढीको जोखिम रहेको छ ।
यस्तै देशका अरु नदी तथा खोलामा पनि बाढी आउने सम्भावना भएकाले सावधानी अपनाउन मौसमविदले आग्रह गरेका छन् । भोलीसम्म नै निरन्तर ठूलो पानी पर्ने र पर्सिदेखि भने मौसममा सामान्य सुधार हुदै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पर्सिदेखि पनि बादल रहने भएकाले मौसम पूरै सफा नहुने महाशाखाका मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । शनिवार रातीदेखि देशका विभिन्न ठाउँमा लगातारको बर्षाले जनजीवन प्रभावित भएको छ । आवतजावतमा समस्या भएको छ । दशैँमा घर गएकाहरुले कार्यक्षेत्रमा फर्किदा सडकको हिलो र पहिरोले हैरानी बेहोर्नुपरेको बताएका छन् । मनसुन पछि हुने वर्षाले धेरै क्षति गर्ने भएकोले सतर्कता अपनाउनुपर्ने जलवायु विज्ञ डा। धर्मराज उप्रेती बताउँछन् ।