
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय समिति ३३५ सदस्यीय बनेको छ । अध्यक्ष माधव कुमार नेपालले जारी गरेको अन्तरपार्टी निर्देशनमा केन्द्रीय समितिलाई पूर्णता दिँदै नेताहरुको कार्यविभाजन समेत गरेको छ ।
त्यसैगरी एकीकृत समाजवादीले ४२ सदस्यीय स्थायी कमिटी र ९४ सदस्यीय पोलिटब्यूरो सदस्यको समेत टुंगो लगाएको छ । अन्तरपार्टी निर्देशनमा स्थायी कमिटी र पोलिटब्यूरोका साथै केन्द्रीय कमिटीलाई विस्तार गरी कार्य विभाजन तोकिएको छ ।
नेता मुकुन्द न्यौपानेलाई उद्योग विणज्य विभाग प्रमुख र उद्योग व्यवसाय फाँट इन्चार्ज र प्रदिप नेपाललाई प्रतिष्ठानहरुको इन्चार्जको जिम्मेवारी दिइएको छ ।
यसअघि नेकपा एमालेमा हुँदा बरिष्ठ नेता रहेका पूर्वप्रधानमन्त्री समेत रहेका झलनाथ खनाललाई सम्मानित नेताको पदीय हैसियत लिइएको छ । खनालले विदेश विभागको जिम्मेवारी पनि समाल्ने भएका छन् ।
एकीकृत समाजवादीले सबै जनवर्गीय संगठनका अध्यक्षलाई केन्द्रीय सदस्य बनाएपनि अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीलाई भने केन्द्रीय सदस्य नबनाएपछि असन्तुष्टि बढेको छ । नाई उनीभन्दा जुनियर र नेताका पिएहरूलाई पार्टीको केन्द्रीय कमिटीमा मनोनित गरिएको भन्दै विरोध भएको छ ।
पार्टी विभाजनमा आफूले साथ दिएपनि एमालेमा केपी ओलीले विधि पद्दति र मापदण्ड नमानेको भनेर विद्रोह गरेका नेताहरूले नै एकीकृत समाजवादीमा व्यक्तिवादी प्रवृति देखाएको आरोप लगाएका छन् ।