
काठमाडौं । भारतीय सेनाको जम्बो टोली आज नेपाल आउँदैछ । भारतको नयाँ दिल्लीस्थित नेशनल डिफेन्स कलेजमा डिफेन्स कोर्ष गरिरहेका भारतीय सैनिक अधिकारीहरुको टोली नेपाल आउन लागेको हो ।
भारतीय जलसेनाका वरिष्ठ सैनिक अधिकारी धिरेन भिगको नेतृत्वमा ३९ सदस्यिय टोली आइतबार काठमाडौं लागेको बताइएको छ । सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार भारतीय सेनाको उक्त टोली कार्तिक ६ गते सम्म नेपालमा बस्ने छ ।
नेपाल बसाइका क्रममा उनीहरुले प्रधानमन्त्री शेरबहादुर देउवा, रक्षामन्त्री मिनेन्द्र रिजाल, अर्थमन्त्री जनार्दन शर्मा र परराष्ट्रमन्त्री नारायण खडकासँग भेट गर्ने कार्यक्रम छ ।
टोलीले जंगी अड्डा भद्रकाली, पोखरास्थित मध्य–कमाण्ड हेडक्वाटर, शिवपुरी स्थित कमाण्ड तथा स्टाफ कलेजको अध्ययन भ्रमण गर्ने छ । उक्त टोली धार्मिक एवं पर्यटकीय क्षेत्रमा समेत जाने छ । उक्त टोलीले पशुपतिनाथ मन्दिर, मुक्तिनाथ मन्दिर, नाम्चे स्थित होटल एभरेष्ट भ्यु र चन्द्रागिरीको भ्रमण गर्ने नेपाली सेनाले जनाएको छ ।
कमाण्ड तथा स्टाफ कलेज गर्ने क्रममा भारतीय र नेपाली सैनिक अधिकारीहरु एक अर्को मुलुक भ्रमण गर्ने परम्परा छ । सोही परम्परा अनुशार भारतीय टोली काठमाडौ आएको हो ।