
काठमाडौं । साफ च्याम्पियनसिप फुटबलको उपाधि भारतले जितेको छ । माल्दिभ्सको राष्ट्रिय रङ्गशालामा शनिबार राति १३ औँ संस्करणको अन्तिम खेलमा भारतले नेपालविरुद्ध ३-० गोल गर्दै उपाधि हात पारेको हो ।
साफ च्याम्पियनसिपको फाइनलमा पहिलो पटक पुगेको नेपालले उपाधिको लागि भएको खेलमा एक गोल गर्न पनि सकेन । खेलकाे पहिलो हाफ गोलरहित बराबरी रहेको थियो ।
भारतले पहिलो हाफलगत्तै दुई मिनेटको अन्तरमा दुई गोल गरेको थियो भने खेलको अन्तिम विन्दुमा पुग्दा अर्को गोल गरेर तीन गोलको अग्रता लियो । खेलको ४८औँ मिनेटमा भारतीय टोलीकाकप्तान सुनिल क्षेत्री र ५०औँ मिनेटमा सुरेश सिंहले गोल गरे भने ८९ मिनेटमा सहाद अब्दुलले गोल गरे ।
यसअघि साफको फाइनलमा पुग्न नसकेको नेपालले यसपटकको साफमा फाइनल पुगेर इतिहास बनाएको थियो । तर उपाधि जितेर अर्को इतिहास बनाउन भने नेपाल चुकेको हो । सन् २०१३ मा नेपालमा भएको साफमा नेपालले भारतलाई २–१ ले पराजित गरेको थियो । त्यसयता भारतविरुद्ध खेलेका ९ मध्ये नेपाल ७ खेलमा पराजित भएको छ भने २ खेल बराबरीमा सकिएका छन् ।