
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले मन्त्रिपरिषदलाई पूर्णता दिएका छन् । मुख्यमन्त्री भएको ६० औं दिनपछि केसीले आइतबार थप मन्त्री नियुक्त गरेका छन् ।
केसीले मन्त्रिपरिषद् जम्बो बनाएका छन् । उनले आज ६ मन्त्री र चार राज्यमन्त्री थपिएका हुन् । यससँगै लुम्बिनीको मन्त्रिपरिषद् १७ सदस्यीय भएको छ । जसमा १३ मन्त्री र ४ राज्यमन्त्री रहेका छन् ।
आइतबार नेपाली कांग्रेसबाट तीन मन्त्री र दुई राज्यमन्त्री, माओवादी केन्द्रबाट दुई मन्त्री र दुई राज्यमन्त्री तथा नेकपा एकीकृत समाजवादीबाट एक मन्त्री थपिएका छन् ।
नयाँ मन्त्रीमा नेपाली कांग्रेसबाट वीरबहादुर राना ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री, सुरेन्द्र हमाल वन वातावरण तथा भूसंरक्षण मन्त्री र वसिउद्दिन खाँ शिक्षा विज्ञान युवा तथा खेलकुद मन्त्री बनेका छन् ।
माओवादी केन्द्रबाट इन्द्रजित थारु स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री र तिलकराम शर्माले आन्तरिक मामिला तथा सञ्चारमन्त्री बनेका छन् । एकीकृत समाजवादीकी एक्ली सांसद रमा आले कानून, महिला, बालिबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बनेकी छन् ।
त्यसैगरी कांग्रेसबाट अर्जुनकुमार श्रेष्ठ ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री र रिना नेपाल विक पर्यटन राज्यमन्त्री बनेकी छन् भने माओवादी केन्द्रबाट विमला खत्री वली स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री सुष्मा यादव कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था राज्यमन्त्री बनेकी छन् ।