
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेरको कोटाबाट मन्त्री भएको भन्दै चर्को विरोध भएपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले राजिनामा दिएका छन् । आइतबार विहान राजिनामाको घोषणा गरेका हमालले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा बुझाएका छन् ।
हमालले राजीनामा दिएको प्रधानमन्त्रीको सचिवालयले पुष्टि गर्दै फोटो सार्वजनिक गरेको छ । मन्त्रिपरिषदलाई पूर्णता दिँदै प्रधानमन्त्री शेरबहदुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीको शपथ खुवाएकी थिइन् ।
हमाललाई नियुक्त गर्नुभन्दा पहिलै नै सार्वजनिक भएको थियो । उनलाई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको ‘कोटा’बाट हमाललाई देउवाले मन्त्री बनाएको भन्दै चौतर्फी आलोचना भइरहेको थियो । काँग्रेस नेता हमाल प्रधानन्यायाधीश जबराको जेठान हुन् ।
मन्त्री पदमा आफ्नो नियुक्तिलाई लिएर आमरुपमा प्रश्न उठेपछि नैतिकताको हिसाबले पनि पदमा बस्न उचित नहुने निष्कर्षमा पुगेकाले राजीनामा बुझाएको मन्त्री हमालले बताएका छन् ।