
काठमाडौँ । नेकपा (एमाले) विभाजनको अन्तिमतिर समूह परिवर्तन भए । लामो समयदेखि तत्कालिन बरिष्ठ नेता माधव कुमार नेपालको टीममा रहेर काम गरेका पहिलो पुस्तादेखि युवा नेताहरुले साथ छोडे । नेता नेपालसँगै रहेर राजनीतिक फाइदा लिएका नेताहरुले नै अन्तिममा विभाजनको पक्षमा नलाग्ने बताउन थाले ।
एमाले विभाजनको खाका तयार गर्ने उपाध्यक्ष भीम रावल, महासचिव घनश्यामसहित अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, भीम आचार्य, रघुवीर पन्तलगायतका नेताहरु एमालेमै फर्किए । उनीहरुले नै हो एमाले विभाजनको खाका तयार गरेको । उनीहरु फर्किएपनि नेता माधव कुमार नेपाल, झलनाथ खनालले पार्टी विभाजन गरि छाडे ।
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले समेत सार्वजनिक कार्यक्रममै उनीहरुलाई धोकेबाजको संज्ञा दिएका छन् । उनीहरुलाई एमालेमा कुनै स्थान नभएको भन्दै नेपालले एकीकृत समाजवादीमा प्रवेश गर्न समेत भनेका छन् ।
त्यसैगरी लामो समयदेखि एमाले केपी शर्मा ओलीको छात्रछायामा फर्किएका नेताहरु माधव नेपालतिर लागेका थिए । ओलीको टीममा रहेर राजनीति गरिरहेका प्रेम आले, कृष्णकुमार श्रेष्ठ ‘किसान’ लगायतका दोस्रो पुस्ताका नेताहरुले माधव नेपाललाई साथ दिए । एमाले कम्युनिस्त पार्टी नभएर व्यक्तिवादी बन्दै गएकोले आफूहरु कम्युनिस्ट आचरणको खोजीमा नेपाललाई साथ दिएको उनीहरुले बताउँदै आएका छन् ।
घर झगडाकै कारण केन्द्रदेखि प्रदेशसम्म एमाले नेतृत्वका सरकार ढाले । अब प्रदेश नम्बर १ र बागमती प्रदेशमा पनि छिटै ढल्ने निश्चित जस्तै छ । प्रधानमन्त्री हुँदा ओलीले जसरी मनलाग्दी ढंगबाट अगाडि बढे त्यसैको परिणाम पनि हो ।
एमालेभित्रको भगडा राजनीतिक भन्दा व्यक्तिको टक्कर, अहंकार, स्वाभिमान लडाइँ भएको नेताहरुले नै बताउँदै आएका छन् । जे भएपनि सत्ता राजनीतिलाई केन्द्रमा राखेर हेर्ने हो भने केपी ओली सडकमा र माधव नेपाल सिंहदरबार पुगेका छन् । विभाजनको अन्तिममा आएर माधव नेपाललाई साथ छोडेर केपीतिर लागेका नेताहरु पनि सडकमै पुगेका छन् भने केपीलाई छाडेर माधव नेपालतिर लागेका नेताहरु सिंहदरबार पुगेका छन् ।
अहिले एकीकृत समाजवादी पार्टीले मन्त्री बनाएर सरकारमा पठाएका पात्रहरु सिंगो एमालेमा अबसर नपाएका अनुहार धेरै छन् । उनीहरु अहिले पनि एमालेमै भएको भए सिंहदरबारको यात्रा तय हुने थिएन ।
लामो समय ओली टीममा रहेका आलेले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी समालेका छन् भने कृष्णकुरमा श्रेष्ठ ‘किसान’ ले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको ।
त्यसैगरी केपीलाई रोजेर मुख्यमन्त्री भएका अष्टमक्ष्मी शाक्य र भीम आचार्य पनि केही दिनमै सडकमै पुग्दैछन् र माधव रोजेका राजेन्द्र पाण्डे र राजेन्द्र राई मुख्यमन्त्रीको जिम्मेवारी समाल्दैछन् ।
एमालेमा फर्किएका नेपाल समूहका नेताहरुलाई राम्रो जिम्मेवारी पनि सार्वजनिक रुपमै नेताहरुले असन्तुष्टि जाहेर गर्न थालेका छन् । एमालेको विधान महाधिवेशनमा माधव छोडेर एमालेमै फर्किएका नेताहरुले राम्रो भूमिका पाएनन् । भीम रावलले त सार्वजनिक रुपमै असन्तुष्टि पोखिसकेका छन् । दश बुँदे सहमतिलाई कार्यान्वयन पनि नभएको माधव नेपाललाई छोडेका नेताहरुले बताउन थालेका छन् ।