
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिमण्डललाई पूर्णता दिने भएका छन् । प्रधानमन्त्री भएको झण्डै तीन महिनापछि मन्त्रिमण्डलले पूर्णता पाउन लागेको हो ।
हिजै मन्त्रिमण्डललाई पूर्णता दिने भनिएपनि मन्त्रालय भागबण्डामा कुरा नमिलेका कारण हुन सकेको थिएन । सत्ता गठबन्धन दलहका शीर्ष नेताहरुको बैठकले मन्त्रालय भागबण्डामा सहमति जुटाएको छ ।
एमाले नेतृत्वको सरकार ढाल्नेदेखि नयाँ सरकार गठनमा महत्वपूर्ण भूमिका खेलेको नेकपा एकीकृत समाजवादीले मन्त्रालय भागबण्डामा असन्तुष्टि जनाएपछि शीर्ष नेताहरु विहीबार दिनभर छलफलमै जुटेका थिए ।
संघमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, एक नम्बर र बागमती प्रदेशमा मुख्यमन्त्री एसलाई दिन अन्य दल तयार भएपछि एसले सहमति जनाएको थियो । मन्त्रालय र प्रदेशमा कुरा मिलेकाले आज मन्त्रिमण्डलले पूर्णता पाउने नेताहरुले बताएका छन् ।
मन्त्रालय भागबण्डमा भएको सहमतिअनुसार नेपाली काँग्रेसले बाँकी रक्षा, संचार, सूचना तथा प्रविधि मन्त्रालयसहित ८ मन्त्रालय पाउने भएको छ । काँग्रेससँग प्रधानमन्त्रीसहित ९ मन्त्रालय हुने भएको छ । यसमा प्रधानन्यायाधीशको सिट पनि सुरक्षित गरिएको छ ।
माओवादी केन्द्रले एक राज्यमन्त्रीसहित ५ र जसपा र एकीकृत समाजवादीले ४–४ मन्त्रालय पाउनेछन् । सरकार गठनमा सहयोग गरेको राष्ट्रिय जनमोर्चाले भने सरकारमा नजाने बताएको छ ।
प्रधानमन्त्री देउवाले विहान ११ बजे नयाँ मन्त्री नियुक्त गर्ने र साँझ ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ खुवाउने तयारी भइरहेको छ ।