
काठमाडौं । प्रदेश नम्बर १ र बागमती प्रदेशमा नयाँ सरकार बनाउने सत्तारुढ गठबन्धन दलहरुबीच सहमति भएको छ । नेकपा एमाले नेतृत्वको सरकार ढालेर नयाँ सरकार बनाउने विहीबार सहमति भएको हो ।
सत्ता गठबन्धन दलका शीर्ष नेताहरुको बालुवाटारमा भएको बैठले दुबै प्रदेशमा नेकपा एकीकृत समाजवादीको नेतृत्वमा सरकार बनाउने पनि सहमति भएको छ । मन्त्रीको भागबण्डामा असन्तुष्ट बनेको एकीकृत समाजवादीलाई दुबै प्रदेशको नेतृत्व दिने सहमति भएको छ ।
पार्टी विभाजनसँगै दुवै प्रदेशमा एमाले नेतृत्वको सरकार अल्पमतमा परेको छ । एमाले विभाजनको अन्तिममा माधव कुमार नेपाल नेताहरुलाई फर्काउन एमालेले यी दुबै प्रदेशमा रातारात मुख्यमन्त्री परिवर्तन गरेको थियो । लामो समयदेखि नेपाल निकट रहेको भीम आचार्यलाई प्रदेश १ र अष्टलक्ष्मी शाक्यलाई बागमती प्रदेशको मुख्यमन्त्री बनाइएको थियो ।
सरकारले अध्यादेश ल्याएसँगै एमाले विभाजनपछि दुबै प्रदेश सरकार अल्पमतमा परेका थिए ।
एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकमा प्रदेश नम्बर १ र वागमतीको मुख्यमन्त्री दिने सहमति भएको जानकारी दिएका छन् । यसअघि बागमतीमा नेपाली काँग्रेसले मुख्यमन्त्री दाबी गरिरहेको थियो ।
नेकपा एसबाट प्रदेश १ मा राजेन्द्र राई र वागमतीमा राजेन्द्र पाण्डे मुख्यमन्त्रीको दाबेदार छन् । एकीकृत समाजवादीले दुबै राजेन्द्रलाई मुख्यमन्त्रीको रुपमा अगाडि सार्ने अनौपचारिक निर्णय गरिसकेको बताइएको छ ।
यसैबीच बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य र एक नम्बर प्रदेशका मुख्यमन्त्री भीम आचार्यले भोलि विश्वासको मति लिने बताएका छन् । पार्टी विभाजनपछि विश्वासको मत लिने संवैधानिक व्यवस्था छ ।
दुबै प्रदेशमा गठबन्धनले एमाले नेतृत्वको सरकारविरुद्ध मतदान गर्ने निर्णय गरिसकेका छन् । पार्टी विभाजनपछि बाँकी रहेको दुबै प्रदेशमा पनि एमालेले सरकारको नेतृत्व गुमाउने भएको छ ।
प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले दुई तिहाई मत पाएपनि एमाले मुख्यमन्त्रीले भने विश्वासको मत नपाउने निश्चित जस्तै छ ।