
काठमाडौँ । सरकारको नेतृत्व गरेको नेपाली काँग्रेससहित सत्तारुढ दलका शीर्ष नेताहरुको बैठक जारी छ । प्रधानमन्त्री निवास बालुटारमा बैठक सुरु भएको हो ।
नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताहरु बैठकमा सहभागी भएको बताइएको छ । मन्त्रालयमा भागबण्डा लिनेपनि एकीकृत समाजवादी र जसपाले मन्त्री छान्न नसक्दा मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन ।
नेताहरुबीच काँग्रेसलाई सात, माओवादी केन्द्रलाई ६ तथा नेकपा एकीकृत समाजवादी र जनता समाजवादीलाई चार–चार मन्त्रालय पाउने सहमति भएको थियो । तर, एकीकृत समाजवादीले संख्यामा चित्त बुझाएपनि मन्त्रालयमा भने असन्तुष्ट रहेको छ । एकीकृत समाजवादी असन्तुष्ट भएकै कारण सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक आज पुनः बसेको हो ।
यसअघि मन्त्रीको नाम टुंगो लगाउन बसेको एकीकृत समाजवादीको बैठक विना टुंगो सकिएको थियो । बैठकले मन्त्रीको नाम छान्न नसकेका कारण जिम्मा अध्यक्ष माधव कुमार नेपाललाई दिइएको छ ।
बैठकमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी छन् ।
प्रधानमन्त्री देउवाले सकेसम्म आजै मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी थालेका छन् ।