
बर्दिया । नेपाल कम्युनिस्ट पार्टीले सरकार र आफ्नो पार्टीबीच भएको तीन बुँदे सहमित कार्यान्वयन नरेको भन्दै प्रदर्शनमा उत्रेको छ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारसँग भएको तीन बुँदे सहमित कार्यान्वयनमा चाँसो नदेखाएको भन्दै नेकपाले देशभर विरोध प्रदर्शन गरेको छ ।
काठमाडौँमा प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र बुझाएको नेकपाले जिल्लाजिल्लाबाट प्रमुख जिल्ला अधिकारीमार्फत ध्यानाकर्षण पत्र बुझाएको छ । नेकपाले जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिनुको साथै नाराबाजी र कोणसभा गरिरहेको छ ।
यसैबीच बुधबार नेकपा बर्दियाले विरोध प्रदर्शन गरेको छ । नाराबाजी जुलुससहित कोणसभा सम्पन्न भएको छ । उक्त कोणसभालाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य तथा वार्ता टोली सदस्य दिपक चलाउने ‘उदय’ ले अघिल्लो सरकारसँग भएको तीन सहमति कार्यान्वयन गर्नेमा सरकार इमान्दार नभएको बताए । उनले आफ्नो पार्टी र सरकारबीच सहमति गरेकोले वर्तमान सरकारले कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।
नेकपाका बाँके–बर्दिया इन्चार्ज समेत रहेका चलाउनले तीन बुँदे सहमित आफ्नाे पार्टीले पूर्णरुपमा कार्यान्वयन गरेको बताए । उनले सरकारले सहमति नगरे आफूहरु जनतामा जान बाध्य हुने चेतावनी दिए ।
त्यसैगरी अछाम, डोटी, बाजुरा, बझाङलगायतका जिल्लामा पनि तीन सहमति कार्यान्वन नगरेको भन्दै विरोध प्रदर्शन भएका छन् ।