
काठमाडौं । श्रमजीवी पत्रकार संघले विभिन्न सञ्चार गृहहरुलाई दसै अगावै पत्रकार,श्रमजीवीहरुलाई उनिहरुको पारिश्रमिक भुक्तानी नगरे दसँै–तिहार लगत्तै उनिहरु विरुद्ध आन्दोलन छेड्ने चेतावनीसहित बुधबार एक प्रेस विज्ञप्ति जारी गरेको छ । बारम्बारको छलफल, धर्ना लगायतका दबाबमुलक कार्यक्रम गर्दा पनि कतिपय सञ्चार गृहहरुले श्रमजीवीहरुको माग पूरा गर्न अटेर गर्ने गरेको र उनिहरु विरुद्ध अब सहिष्णु नबन्ने अध्यक्ष जन्मदेब जैसी तथा महासचिब धनन्जय बुढाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
बडा दशै, तिहार, छठपर्वलगायतका पर्वको सु–अवसरमा शुभकामना सहितको विज्ञप्तिमा सञ्चार गृहका मालिक तथा सञ्चालकहरुको लागि मात्रै चाडपर्व नभई उत्पादनको मुख्य साधन श्रमजीवीले पनि खुसी साथ मनाउन सक्ने वातावरणका निम्ति पनि उनिहरुको पारिश्रमिक भुक्तान गर्न पनि आग्रह गरिएको छ ।
कोरोनाको जरजर समयमा जागिरबाट हात धुन बाध्य उनिहरुले महिनौंसम्म पनि तलब नपाउनु दुःखद भएको उल्लेख गर्दै कतिपय मेडिया मालिकहरुले नियोजितरुपमै नियम–कानुन विपरित नियुक्ति पत्र नदिने, अनुचित सरुवा गर्ने, मनपरि तरिकाले निष्काशन गर्ने, तलबभत्ता कटौती गर्नेलगायतका अमानविय कार्यको फेहरिष्ता आफ्नो कार्यालयमा आएको र उक्त समस्या समाधान गर्न आफूहरुले कुनै कसर बाँकी नराखेको पनि उल्लेख गरिएको छ ।
पीडित श्रमजीवीहरुका गुनासाहरु आए लगत्तै आफूहरुले विभिन्न सञ्चारगृहहरुमा छलफल, धर्नालगायतका दबाबमूलक कार्यक्रम सञ्चालन निरन्तर गर्दै आएको र सो बीच कतिपयले तत्कालिन् समस्याको पूरै, कतिपयले आशिंक तथा कतिपयले अझै अटेर गर्दै समाधान गर्नुको सट्टा समस्यालाई झन बल्झाउने दुष्प्रयास गरिरहेको विषयले आफू र श्रमजीवीहरुलाई आक्रोषित समेत बनाएको उल्लेख छ । अब पनि सञ्चारगृहरुले पीडितहरुको आवाज नसुने कठोर बन्ने भन्दै अगाडी भनिएको छ, “बारम्बारको ध्यानाकर्षण तथा अनुरोधलाई वेवास्ता र अटेर गरेमा हाम्रो संगठनको नेतृत्वमा चरणवद्ध संघर्षका कार्यक्रमहरु घोषणा गर्न बाध्य हुनेछौं । संघर्षबाट सिर्जना हुने परिणामको स्वयम सञ्चार गृह भागिदार हुनु पर्ने र श्रमजीवीलाई अबमुल्यन् गर्ने, श्रम शोषण गर्ने पक्ष चैनसँग बस्न नपाउने चेतावनी दिन्छौ ।”