
काठमाडौं । साढे ३३ किलो सुन तस्करीमा गोरेसहित ८ जना दोषी ठहर भएका छन् । सुन भरिया सनम शाक्यको ह त्यामा संलग्नमा गोरेसहित ८ जनालाई कैद सजाय तोकिएको छ ।
ह त्याका मुख्य योजनाकार गोरे भनिने चुडामणि उप्रेतीसहित टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले नरेन्द्र कार्की र भोजराज भण्डारीले जन्मकैद फैसला भएको छ भने थप दुई जनालाई तीन वर्ष र ६ महीना कैद सजाय सुनाइएको छ ।
फरार रहेका २१ जनाको मुद्दा मुल्तबीमा राखिएको छ । दुबईबाट ९ माघ २०७४ मा नेपाल आएको साढे ३३ किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थल हुँदै नेपाल भित्र्याइएको तस्करीको साढे ३३ केजी सुन सम्बन्धित व्यक्तिसम्म नपुगी गायब भएको थियो । तर, भरिया उर्लाबारीका सनम शाक्यको ह त्यासँगै घटना सार्वजनिक भएको थियो ।
उक्त घटनालाई लुकाउन नेपाल प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखाका तत्कालिन प्रमख एसएसपी दिवेश लोहनी, डीएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेल पनि भूमिका खेलेका थिए ।
घटना सार्वजनिक भएपछि सरकारले गृहमन्त्रालयले सह–सचिव ईश्वर पौडेल नेतृत्वको छानबिन समिति बनाएको थियो भने प्रहरी प्रधान कार्यालयले प्रहरी नायब महानिरीक्षक (डीआईजी) पुष्कलराज रेग्मीको नेतृत्वको समिति बनाएको थियो ।
साढे ३३ किलो सुन तस्करी प्रकरणमा मुछिएका सबै प्रहरीले सफाइ पाएका छन् । जिल्ला अदालत, मोरङले मंगलबार उनीहरुलाई सफाइ दिएको हो । यो प्रकरणमा फरार रहेका २१ जनाको मुद्दा चाहिँ मुल्तबीमा राखिएको छ ।
अदालतले तत्कालीन अपराध महाशाखा प्रमुख पूर्वएआईजी गोविन्दप्रसाद निरौला, एसएसपी दिवेश लोहनी (हाल डीआईजी), श्यामबहादुर खत्री र प्रहरी उपरीक्षक (एसपी) विकासराज खनाल, प्रहरी नायब उपरीक्षक (डीएसपी) सञ्जय राउत, प्रजित केसी, प्रहरी नायब निरीक्षक (सई) बालकृष्ण सञ्जेल, प्रहरी हवल्दार अमरबहादुर थापा मगर र प्रहरी जवान विष्णु खड्काले पनि सफाइ पाएका छन् ।