
काठमाडौं । साफ च्याम्पियनसिपमा नेपालसँग श्रीलंका पराजित भएको छ । नेपालले सोमबार भएको खेलमा श्रीलंकालाई ३–२ गोलको नतिजामा पराजित गरेको हो ।
माल्दिभ्सको मालेमा भएका भएको खेलको सुरुआतमा श्रीलंकाले दबाब बनाए पनि ३३ औं मिनेटमा सुमन लामाले गोल गरेसँगै नेपालले खेलमा पकड बनाएको थियो ।
पहिलो हाफमा १–० को अग्रता बनाएको नेपालले ५१ औं मिनेटमा अग्रता दोब्बर पारेको थियो । नेपालका लागि आयुष घलानको पासमा अञ्जन विष्टले ट्याप इनमार्फत् दोस्रो गोल गरेका थिए ।
त्यसको ६ मिनेट नबित्दै श्रीलंकाका मार्भिन हामिल्टनले उत्कृष्ट गोल गरेका थिए । निर्धारित समयको खेल सकिन चार मिनेट बाँकी रहँदा आयुषले गोल गर्दै नेपालको अग्रता पुनस् ३-१ मा लम्ब्याएका थिए ।
तर, इन्जुरी समयमा गौतम श्रेष्ठले पेनाल्टी एरियामा बल ह्यान्ड गरेको भन्दै रेफ्रीले पेनाल्टी दिएपछि श्रीलंकाले दोस्रो गोल फर्काउने मौका पाएको थियो । सोही पेनाल्टीमा श्रीलंकाका डिलियोन डी सिल्भाले गोल गरेका थिए ।
जितसँगै नेपालको ऐतिहासिक फाइनल प्रवेश नजिक पुगेको छ । बाँकी दुई खेलबाट एक बराबरी वा जित निकाले नेपालले पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल खेल्ने छ । प्रतियोगितामा दुई खेलमा ६ अंक जोड्ने नेपाल पहिलो टोली हो ।
नेपालले आगामी आइतबार भारतसँग खेल्ने खेल तालिका छ ।
नेपालले २ खेलबाट ६ अंक जोडेर शीर्ष स्थान कब्जा गरेको छ भने समान खेलमा ४ अंक जोडेको बंगलादेश दोस्रो स्थानमा छ । एक खेलमा १ अंक जोडेको भारत तेस्रो र १ खेलमा अंकविहीन माल्दिभ्स चौथो स्थानमा छ । दुई खेलमा अंकविहीन श्रीलंका अन्तिम (पाचौं) स्थानमा छ ।