
काठमाडौँ । तीन बुँदे सहमति विपरित सरकारले नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य ध्रुव घिमिरे ‘विप्लव’ विरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ । नेकपाका म्याग्दी र बाग्लुंगका इन्चार्ज समेत रहेका विप्लवलाई जिल्ला अदालत म्याग्दीले ३५ दिने पक्राऊ पुर्जी जारी गरेको हो ।
एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार र नेकपाबीच तीन बुँदे सहमित विपरित सार्वजनिक सम्पतिको विनास गरेको मुद्धामा २०७८ असोज ११ गते पक्राउ गर्न आदेश दिएको थियो । उक्त पक्राउ पुर्जी विप्लवको घर रहेको म्याग्दीको बेनी नगरपालिका वडा नम्बर २ को कार्यालयमा अदालतका कर्मचारीले टाँस गरेका हुन् ।
त्यसैगरी नेकपाका म्याग्दी जिल्ला सदस्य प्रेम कुँवरलाई पनि ३५ दिने पक्राउ पुर्जी जारी गरिएको छ । उनलाई पनि सार्वजनिक सम्पतीमा बिनास गरेको कसुरमा अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।
सरकारसँग भएको सहमतिअनुसार नेकपाले आफ्ना सम्पूर्ण राजनीतिक गतिविधि शान्तिपूर्ण रुपमा गरिरहेको छ । तर, सरकारले भने नेता कार्यकर्तामाथि झुटा मुद्धामा पक्राउ पुर्जी जारी गरिरहेको छ ।
सरकारले प्रतिबन्ध हटाउने, मुद्धा फिर्ता लिने, जेलमा रहेका नेता कार्यकर्ता रिहा गर्ने र नेकपाले आफ्नो सम्पूर्ण राजनीतिक गतिविधि शान्तिपूर्ण रुपमा जनतामा लैजाने सहमति भएको थियो । ओली नेतृत्वको सरकारले प्रतिबन्ध खारेज बाहेक मुद्धा फिर्ता लिएर नेता कार्यकर्तालाई रिहा गरेन ।
ओली बहिर्गमनसँगै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्यो । सरकारमा नेकपा माओवादी केन्द्र सहभागी छ । त्यस्तै, सत्ता गठबन्धनमा रहेका नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी पनि सहभागी हुने तयारी भइरहेको छ । तर, नेकपासँग गरेको सहमति कार्यान्वयन गर्ने कुनै छाटकाँट देखिएको छैन ।
नेकपाका महासचिव विप्लवले तीन सहमतिको कार्यान्वयनको लागि पहल गरेका थिए । सत्ता गठबन्धनका नेताहरुसँग भेटेर अघिल्लो सरकारसँग भएको सहमति कार्यान्वनको लागि पहल गर्न आग्रह गरेका थिए । भेटमा सबैले सहमति कार्यान्वयन गर्ने आश्वासन दिएपनि अहिलेसम्म भएको छैन । नेकपाका नेता कार्यकर्ताहरु जेलमा छन् ।
नेकपाका नेताहरुले सरकारले तीन बुँदे सहमित विपरित नेता कार्यकर्ताविरुद्ध पक्राउ पुर्जी जारी गरे प्रतिकार गर्ने जनाएका छन् ।