
काठमाण्डौ । न्यादी हाइड्रोपावर लिमिटेडले आज (असोज १५ गते) बाट २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासनमा ल्याएको छ ।
जसमध्ये, २ प्रतिशत अर्थात् ४५ हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात् १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी २० लाख ९२ हजार ५०० कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।
आवेदकले छिटोमा असोज १९ गते र ढिलोमा असोज ३१ गतेसम्म आवेदन दिन पाउने छन् ।
लगानीकर्ताको लागि थपिएको चुनौती
ज्ञान बटुलेर आएका लगानीकर्ता भन्दा शेयरबजार सम्बन्धी कुनै ज्ञान नै नलिई आएका लगानीकर्ता बढेका कारणले झन चुनौती थपिएको छ ।
आईपीओमा आवेदन भर्नेको संख्या पहिलेको तुलनामा अहिले एकदमै बढेको छ । अझ भन्ने हो भने लगातार फरक–फरक कम्पनीले आईपीओ निष्कासनमा ल्याएपनि पर्ने सम्भावना भने न्यून नै रहेको छ ।
न्यादी हाइड्रोपावरको वित्तिय अवस्था
न्यादी हाइड्रोपावरले लमजुङ जिल्लामा ३० मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ। प्रतिमेगावाट लागत अनुमान २० करोड ३९ लाख २५ हजार रहेको छ। कुल लगानी अनुमान ६ अर्ब ११ करोड ७७ लाख रहेको छ।
चालु आव २०७८/७९ मा कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १.९६ रुपैयाँ, आव २०७९र८० मा १३.७२ रुपैयाँ र आव २०८०/८१ मा १६.७९ रुपैयाँ रहने अनुमान गरिएको छ। अबको ४ वर्षमा अर्थात आव २०८१/८२ मा कम्पनीको ईपीएस १९.८६ रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ।
त्यस्तै, चालु आव २०७८/७९ मा प्रतिसेयर नेटवर्थ ९६.१० रुपैयाँ, आव २०७९र८० मा १०९.८३ रुपैयाँ र आव २०८०/८१ मा १२१.६२ रुपैयाँ रहने प्रक्षेपण गरिएको छ भने आव २०८१/८२ मा कम्पनीको प्रतिसेयर नेटवर्थ १३३.९८ रुपैयाँ पुग्ने अनुमान गरिएको छ।
चालु आवमा कम्पनीको नाफा २ करोड ९३ लाख रुपैयाँ हुने प्रक्षेपण गरिएको छ भने आर्थिक वर्ष २०८१/८२ मा २९ करोड ७९ लाख रुपैयाँ नाफा हुने अनुमान गरिएको छ।
यसैगरी, चालु आवमा जगेडा ५ करोड ८४ लाख रुपैयाँले ऋणात्मक हुने कम्पनीको प्रक्षेपण छ भने आव २०८१/८२ सम्म यसको आकार बढेर ५० करोड ९६ लाख रुपैयाँ हुने प्रक्षेपण गरिएको छ।